अर्थमन्त्री शर्मालाई बजेटमा करका दर, भन्सार र राजश्व दरमा हेरफेर गरेको आरोप

काठमाडौँ । एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माले पदमा बस्न नैतिक हिसाबले नमिल्ने बताएका छन् । करका दर हेरफेरका विषयमा सार्वजनिक भएका विवरणले अर्थमन्त्रीलाई पदमा बस्न नमिल्ने बताएका हुन् । निश्चित व्यापारिक घरानालाई फाइदा पुर्‍याउनका लागि बजेटमा करका दर, भन्सार र राजश्व दरमा हेरफेर गरेको आरोप अर्थमन्त्रीलाई लागेको छ ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा एमालेले अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने माग गरेको हो । यति गम्भीर प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्न लायक छन् प्रधाानमन्त्रीले यसको जवाफ दिनुपर्छ कि पर्दैन, उनले भने, करको विषय ज्यादै गोपनीय विषय हो । राष्ट्रको सुरक्षा स्वार्थको विषय हो । संसद्ले यसबारेमा कदम चाल्नुपर्छ । यसको जवाफ हामी चाहन्छौं । मन्त्रीले नैतिक हिसाबले त्यो पदमा बस्न नमिल्ने बताएका छन् ।

प्रमुख प्रतिपक्षले सोमबारको प्रतिनिधिसभा बैठकमा गम्भीर प्रश्न उठाएपछि अर्थमन्त्रीले संसद्‍मा जवाफ दिनुपर्नेमा त्यसो नगरेको भन्दै पाण्डेले आपत्ति जनाएका छन् । यति गम्भीर विषयको गम्भीरतताका साथ प्रश्न खडा गरिसकेपछि अर्थमन्त्रीले आएर संसद्‍मा यसका बारेमा कुनै प्रस्ट पारेनन् । यो ज्यादै आपत्तिजनक कुरा हो, उनले भने, यसबारेमा खासगरी करका दर तलमाथि भए भन्नेबारेमा विभिन्न सांसदहरूले बजेटको छलफलमा प्रतिपक्षी र सत्तापक्षका सांसदहरूले गम्भीर चासो व्यक्त गरेका छन् ।

ुअर्थमन्त्रालयमा बजेट संसद्मा प्रस्तुत गर्नु अघिल्लो दिन अर्थमन्त्रालयका कर्मचारीबाहेक कसैलाई प्रवेश दिइँदैन । खासगरी करका दरमाथिको छलफल चलिरहेको बेलामा मन्त्रीलाई बाहेक कसैलाई फोन राख्ने अधिकार दिइँदैन र सचिवका टेलिफोन दराजमा राखेर छलफल गर्ने चलन रहन्छ । तर यसपटक अर्थमन्त्री शर्माले बाहिरका मान्छेलाई अर्थमन्त्रालयमा बोलाएर करका दर चलाउन आदेश दिएको भन्ने सार्वजनिक भएको विषयलाई लिएर प्रतिपक्षले संसद्‍मा आवाज उठाएको हो ।