खैरहनी नगर अस्पतालमा रेबिजविरुद्धको खोप सेवा सुरु

काठमाडौँ । पूर्वी चितवनको खैरहनी नगर अस्पतालमा रेबिजविरुद्ध एन्टी रेबिजको खोप सेवा सुरु गरिएको छ । भरतपुर अस्पतालमा मात्रै पाइने यो सेवा खैरहनी नगर अस्पतालले पहिलोपटक सुरु गरेको हो ।

खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माका अनुसार स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा खोप सेवा सुरु गरिएको हो । दैनिकरुपमा यो सेवा लिन सकिने उनले जानकारी दिइएका छन् ।

एन्टी रेबिज खोप हालसम्म भरतपुर अस्पतालमा मात्रै पाइँदै आएकोमा पूर्वी चितवनका जनतालाई लक्षित गरी आफूहरुले सुरु गरेको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत शर्माले यस सेवाबाट खैरहनी मात्रै नभएर पूर्वी चितवनका जनताले सेवा लिनसक्ने बताए ।

कुकुर, बिरालो, स्याल, चमेराजस्ता जङ्गली तथा घरपालुवा जनावरको टोकाइबाट सर्ने रेबिज रोगलाई प्राणघातक मानिन्छ । रेबिज एक प्रकारको भाइरस हो । यो खोप निःशुल्क पाइन्छ ।