कैलालीमा नक्कली नोट छाप्ने दुई जना पक्राउ

काठमाडौँ । कैलालीमा नक्कली नोट छाप्ने दुई जनालाई प्रहरीले पक्राउ छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ८ स्थित बी युनिक फोटो स्टुडियोका सञ्चालक २१ वर्षीय रामदास राना र १८ वर्षीय अनुराग राना रहेका छन् । उनीहरुलाई फोटो स्टुडियोमा नक्कली नोट छाप्ने गरेको आरोपमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अनुरागले धनगढीको मायामेट्रो अस्पतालमा १ हजारको नक्कली नोट दिंदा जाली नोट छाप्ने गरेको तथ्य पत्ता लागेको हो । बुधबार साँझ अनुरागले चलाएको लु८५ प५१८४ नम्बरको मोटरसाइकलले धनगढी उपमहानगरपालिका–५ हसनपुरका १६ वर्षीय टेकबहादुर छेडाललाई ठक्कर दिएपछि दुवै जना घाइते भएका थिए ।

दुवैको मायामेट्रो अस्पतालमा उपचारपश्चात डिस्चार्ज हुने बेला अनुरागले उपचार शुल्क भुक्तानी गर्दा १ हजारको १ नोट नक्कली भेटिएको थियो । लगत्तै वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले रानाको स्टुडियोबाट रङ्गिन मसीका डिब्बा पाँच थान, रङ्गिन प्रिन्टर, मनिटर, सीपीयु, लेमिनेशन मेसिन, कीबोर्ड एक÷एक थान बरामद गरेको छ । यस्तै, कैची एक थान, ब्लेड दुई थान, नक्कली हजारको नोट दुई थान, बिग्रेको नक्कली हजारको नोट एक थान र बिग्रेका नक्कली १०० को नोट दुई थान बरामद गरिएको छ ।

अनुरागलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनको मामा नाता पर्ने फोटो स्टुडियोका सञ्चालक रामदास रानाले पैसा छाप्ने गरेको खुलेको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनका अनुसार बुधबार साँझ नै फोटो स्टुडियोमा पुगेको प्रहरीले विभिन्न उपकरणसहित रामदासलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान गरिरहेको जोशीले जानकारी दिइएका छन् ।