चोरी सिकारमा सघाएको आरोपमा तीन महिनादेखि कुकुर थुनामा

काठमाडौँ । मुगुमा घोरल चोरी सिकारमा सघाएको आरोपमा तीन महिनादेखि कुकुर थुनामा रहेको छ । चोरी सिकार आरोपमा नियन्त्रणमा लिइएका मालिक धरौटीमा छुटेको छ । तार सिकारी कुकुर डिभिजन वन कार्यालय मुगुमै तीन महिनादेखि थुनामा छ ।

मुगमकार्मारोङ गाउँपालिका–१, चितैगाउँका च्याम्पा तामाङ, निजका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङलाई गत फागुन २२ गते घोरल चोरी सिकार आरोपमा नियन्त्रणमा लिइएको थियो । सो क्रममा उनीहरूका साथमा रहेको कुकुर पनि नियन्त्रणमा लिइएको बताइएको छ ।

वन कार्यालयले चलाएको मुद्दामा चार जना प्रतिवादी भएको तर कुकुर प्रतिवादी नभएपछि अदालतले पनि त्यस विषयमा केही बोलेको छैन । अदालतले कुकुरको विषयमा केही नभनेपछि वन कार्यालयले उक्त कुकुरलाई थुनेर राखेको जिल्ला अदालतका सूचना अधिकारी विद्याराज बुढाले बताए । घट्टमा अन्न पिस्न जाँदा वनमा घोरल चर्दै गरेको देखेपछि फर्केर घरमा आई सिकारी कुकुर लिएर गई घोरल मारेको दावा छोर्देनले अदालतमा बयान दिएको छ ।जङ्गली जनावर चोरी सिकार आरोपमा मालिक र कुकुरविरुद्ध डिभिजन वन कार्यालय मुगुले अदालतमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावा छोर्देन १२ जेठमा जनही ७० हजार रुपियाँ धरौटीमा रिहा भएका थिए । टासी र छिमेक तामाङ पनि साधारण तारेखमा छुटेका थिए ।

छोर्देनले घोरल मारेको गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मारेको घोरल र सिकारी कुकुरसहित ४ जनालाई प्रहरीले तत्काल पक्राउ गरी कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाएको थियो ।

कार्यालयका निमित्त प्रमुख गगन महताराका अनुसार सरकारी वकिलको रायअनुसार कुकुरले नै जङ्गली घोरल मारेको हो भन्ने बयानमा नखुलेको हुँदा उक्त सिकारी कुकुर सम्बन्धित कुकुर मालिकलाई लिखित कागज गरी जिम्मामा लगाउनु भन्ने राय भए पनि कुकुरका मालिक दावा छोर्देन तामाङ फरार भएकाले उक्त कुकुर बुझिलिने मालिक नभएको हुँदा थुनामै रहेको बताएका छन् । उक्त कुकुर बुझिलिन सम्बन्धित ठाउँका स्थानीय जनप्रतिनिधिलाई वनले जानकारी गराएको छ । महताराले कुकुर बुझ्न आएमा स्थानीय जनप्रतिनिधिको रोहवरमा जिम्मा लगाइने बताएको छ ।

डिभिजन वन कार्यालयका अनुसार उक्त कुकुरलाई पालनपोषणमा कुनै पनि खर्च शीर्षक वनसँग छैन । उक्त सिकारी कुकुरलाई पालनपोषणका लागि कार्यालयका वन संरक्षक टेकबहादुर रोकायाको व्यक्तिगत २५ हजार रुपियाँ खर्च भएको कार्यालयले जानकारी गराएको छ । उक्त गाउँ मुगमकार्मारोङ गाउँपालिकाको चितैगाउँमा पर्ने वन क्षेत्रमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज पर्छ