ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जर समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपालको बैंक तथा वित्तीय संस्थालाई एकापसमा मिलाएर लैजान सक्ने भनेर परिचित ग्लोबल आइएमई बैंकले फेरि अर्को ऐतिहासिक निर्णय गरेको छ । दुई बैंकबीच एकापसमा गाभिनका लागि आज प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकापसमा गाभिने सम्झौता गरेको केही दिन पनि नबित्दै ग्लोबलले बैंक अफ काठमाण्डूसँग एकापसमा गाभिने निर्णय गरेका हुन् । समझदारीपत्रमा हस्ताक्षर भएसँगै ५२ अर्ब कूल पूँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंकका रूपमा ग्लोबल आइएमई बैंकले आफ्नो स्थान बनाउनेछ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

मर्जरपश्चात बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डूका तर्फबाट दुई जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ । यसअघि ग्लोबल आइएमई बैंकमा बज्राचार्य नै प्रमुख कार्यकारी अधिकृतका रूपमा रहेका छन् ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्व हाललाई १ अनुपात एकको स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ । दुवै बैंकले गत जेठ मसान्तसम्म ६ अर्बभन्दा बढी खुद नाफा आर्जन गरिसकेका छन् । दुई बैंकहरूका ३ सय ८५ शाखा कार्यालय, ३ सय ६७ एटिएम, २ सय ७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीनवटा विदेशस्थित सम्पर्क कार्यालय, ३७ लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुने अनुमान गरेका छन् ।

कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपालको बैंकिङ इतिहासमा एउटा ऐतिहासिक कार्यसम्पन्न भएको जानकारी दिइएका छन् । ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशन परिपालनामा सधैँ पहिलो हुने गरेको जनाउँदै उनले उक्त मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरिएको जानकारी दिए । उनले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसाबले सर्वोकृष्ट बैंक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले बैंकिङ क्षेत्रमा आजको दिन सधैँ स्मरणमा रहिरहने बताए । उनले मर्ज हुनु प्राकृतिक प्रक्रिया भएको स्पष्ट गदै मर्जरपछि बन्ने बैंक कस्तो बन्छ भन्ने मूल विषय रहेको बताए । उनले नयाँ बैंकले नेपालको बैंकिङ क्षेत्रमा ठूलो सफलता हासिल गर्नेमा विश्वास प्रकट गरेका छन् ।