नेपाली व्यवसायीलाई चीनको भिसा दिन माग

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालमा व्यापार व्यवसायलाई सहजीकरण गर्नका लागि नेपाली उद्योगी तथा व्यवसायीलाई चीनको भिसा दिन माग गरेको छ ।

महासङ्घले आज बिहान चीनका लागि नेपालका नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठलाई आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा व्यवसायीहरुले नेपालमा सहज रुपमा व्यवसाय सञ्चालनका लागि चीनमा जान रोकिएको भिसा सहजीकरण गर्न माग गरेको हो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष कुमार कार्कीले केरुङ, तातोपानीलगायतका चीनसँग जोडिएका नेपाली भन्सार नाकामा नेपाली व्यवसायलाई सहज रुपमा आवतजावतको व्यवस्था मिलाउन चीन सरकारसँग पहल गरिदिन आग्रह गरेका छन् ।

“केरुङ, तातोपानीलगायतका नाकामा नेपाली व्यवसायी, चालक तथा सहचालकलाई आवतजावतका लागि सहज वातावरण बनाउनुपर्छ, केरुङ तथा खासामा आइपुगेका सामान बढीमा १० दिनभित्र नेपाली भन्सार नाकामा आइपुग्ने वातावरण बनाउनुपर्छ”, महासङ्घका अध्यक्ष कार्कीले भने ।

भेटमा राजदूत श्रेष्ठले व्यवसायीलाई परेको समस्या आम देशवासीको समस्या भएको भन्दै उक्त समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए । नाकाभित्र रहेका समस्या समाधान गरी नाकालाई सहज बनाउन मेरो पर्यत्न रहन्छ”, उनले भने ।

चीनमा स्थापना भएको नेपाली राजदूतावास नेपाली जनताको समस्या समाधान गर्नका लागि स्थापना भएको हो, म नेपालीकै काम गर्न चीन जान लागेको हो, व्यवसायीलाई परेको पिरमर्काको समाधान मेरो उच्च प्राथमिकता हुने बताएका छन् । राजदूत श्रेष्ठले भिसा समस्या समाधानमा पनि आफ्नो प्राथमिकता रहने श्रेष्ठको भनाइ छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठले चीनसँग जोडिएका नेपाली नाका अवरुद्ध हुँदा नेपाली उद्योगी व्यवसायी ठूलो समस्यामा परेको बताएका छन् । चीनमा गएर सामान छानेर नेपाल ल्याउने वातावरण निर्माणमा लाग्न राजदूतसमक्ष उनले अनुरोध गरेका छन् ।

महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवाल, सल्लाहकार समितिका सभापति नयनबहादुर पण्डित क्षेत्रीलगायतले नेपाल–चीन सम्बन्धलाई प्रगाढ बनाउँदै नेपाली उद्योगी व्यवसायीको हक, हितमा लाग्न राजदूतसमक्ष आग्रह गरेका थिए ।