कालिज फार्ममा चितुवाको अक्रमणले क्षति

काठमाडौँ । दोलखाको भीमेश्वर नगरपालिका–७स्थित मकैबारीमा रहेको कालिज फार्ममा चितुवा पसेर आक्रमण गरेको छ । सदरमुकाम चरीकोट बजारको नजिकै फर्ममा दिउँसै चितुवा पसेर आक्रमण गर्दा करिब एक हजारभन्दा बढी कालिज मरेको छ । चार हजारभन्दा बढी कालिज पालन गर्ने उक्त फार्ममा दिउँसोदेखि रातभर करिब एक हजारभन्दा बढी कालिज मारेको फार्म सञ्चालक मिङ्गुर शेर्पाले बताए ।

फार्ममा काम गर्ने मजदूरले दाना दिने बेलामा कालिज मरेको देखेपछि खोजी गर्दा फार्मभित्र चितुवा भेटिएको थियो । दूधपोखरी वाइल्ड लाइफ एग्रो फार्मले विगत दुई वर्षदेखि व्यावसायिकरुपमा कालिज पालन गर्दे आएका थिए । फार्मको एक भागमासाना–साना कालिज र अर्को भागमा बेच्न तथा तल्ला उत्पादनका लागि ठू्लो कालिज राखिएकामा बेच्नका लागि योग्य करिब एक हजार कालिज चितुवाले मारेको उनले बताए ।

चितुवाले केही कालिज समातेर आक्रमण गर्दा मरे पनि धेरै जस्तो कालिज आत्तिइ तार जालीमा ठोक्किएर मरेको पाइएको छ । फार्मभित्र चितुवाका कारण करिब रु ४० लाखभन्दा बढीको क्षति भएको छ ।

चारैतिर तार जालीले बारेको फार्मभित्र चितुवा छिरेपछि निस्कने ठाँउ नपाउँदा चितुवाले फार्ममा बढी क्षति गरेको उनले गुनासो गरेका छन् ।

डिभिजन वन कार्यालयका कर्मचारी र सुरक्षाकर्मीले चितुवा नियन्त्रणमा लिन नसकेपछि काठमाडौँबाट थप टोली बोलाएर नियन्त्रणमा लिइएको वन कार्यालयका प्रमुख थीरबहादुर कार्कीले बताए।