बजेट निर्माणका समयमा भएको अनधिकृत व्यक्तिको संलग्नता सम्वन्धी प्रतिवेदन आज बुझाईँदै

काठमाडौँ । बजेट निर्माणका समयमा गैर व्यक्तिको प्रवेश भएको र चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउने भएको छ ।

विभिन्न पक्षसँग छलफल गरेर समितिले प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनलाई अन्तिमरुप दिन हिजो दिनभर समितिको बैठक बसेको थियो । समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर प्रतिवेदन बुझाउने समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

“संसदीय छानविन विशेष समितिको आज अन्तिम बैठक बस्यो । प्रतिवदेन तयारी गर्ने कुरा सम्पन्न भएको छ”, उहाँले भन्नुभयो, “भोलि समय लिएर सभामुखसमक्ष प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । समितिका सभापतिले प्रतिवेदन पेश गर्नुहुनेछ ।” प्रतिवेदनमा उल्लेखित विषय सार्वजनिक गर्न नमिल्ने उहाँले बताउनुभयो ।

गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सो सम्बन्धमा छानबिन गर्न ११ सदस्यीय छानबिन विषेश समिति गठन गरिने घोषणा गर्नुभएको थियो । समितिमा सांसद खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल ९गौतम०, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव रहनुभएको थियो ।