एक करोड बराबरको अवैध सामान बरामद

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट–सुस्तापूर्वले १ करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार साँझ नवलपुरको कावासोती–१६ स्थित चालिस किलो जङ्गलबाट अवैधरूपमा भित्र्याइएको सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना३ख ५१६८ नंको ट्रकबाट १ करोड २६ हजार ९ सय ९० बराबरको अवैध सामग्री बरामद गरिएको हो ।

उक्त ट्रकमा लुकाएर ल्याइएको बिलबिनाका लत्ताकपडा, चिनी तथा युरिया मल बरामद गरिएको उनले जानकारी दिए । बरामद सामान, ट्रक र ट्रकचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको पाठकले बताएका छन् ।