एमाले अध्यक्ष ओली र चिनियाँ नेता ली चान्शुबीच भेटवार्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।

सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनहरुबीच शिष्टाचार भेटवार्ता भएको एमाले पार्टी कार्यालयले जानकारी दिएको छ । भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको छ । भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै नेताहरु अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, डा राजन भट्टराई, अन्जान शाक्यलगायत सहभागी भएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष चान्शु सोमबार काठमाडौँ आइपुगेका हुन् ।  अध्यक्ष लीले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज अपराह्न शिष्टाचार भेटवार्ता गने कार्यक्रम छ । नेता लीले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्ने कार्यक्रम छ ।   अध्यक्ष लीले यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गने छन् ।