रूसी विद्यालयमा गोली चल्यो, ७ विद्यार्थीसहित १३ को मृत्यु

काठमाडौँ । रूसको इजेभ्स्क शहरको एक विद्यालयमा गोली चल्दा ७ बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

सोमबार भएको गोलीकाण्डमा रुसी अनुसन्धान समितिलाई उद्धृत गर्दै तास समाचार एजेन्सीका अनुसार अनुसारपश्चिमी रुसको उडमुर्त गणतन्त्रको राजधानी इजेभ्स्कको शहरी प्रशासन भवन नजिकै रहेको विद्यालयमा भएको आक्रमणमा ७ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । घटनामा १४ बालबालिका र अन्य सात जना घाइते भएका छन् ।

यहाँको प्रशासनले दिएको जानकारीमा गोली लागी ९ जनाको मृत्यु भएको छ भने् अन्य २० जना घाइते भएको बताइएको छ ।

आक्रमणकारीले आत्महत्या गरेको र उसको शव फेला परेको र उसले नाजी चिन्ह अङ्कित कालो टि–सर्ट र मास्क लगाएको भेटिएको रूसी प्रहरीले जानकारी दिएको छ ।

आक्रमण भएको विद्यालयमा ९ सय ८२ विद्यार्थी र ८० शिक्षक रहेका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै उदमुर्त गणतन्त्रको प्रशासनले सोमबारदेखि तीन दिने शोकको घोषणा गरेको छ । आक्रमणकारीसँग कुनै कागजात नभएकाले पहिचान अस्पष्ट रहेको समितिले जनाएको छ ।