ट्वीनअटर जहाज ग्राउण्डेड भएसँगै आन्तरिक उडान ठप्प

काठमाडौँ । नेपाल वायुसेवा निगमको आन्तरिक उडान ठप्प भएको छ । निगम स्रोतका अनुसार पश्चिमका विमानस्थलमा उडानमा रहेको ट्वीनअटर जहाज ग्राउण्डेड भएसँगै निगमको आन्तरिक उडान ठप्प भएको हो ।

निगमका एक अधिकारीका अनुसार जहाज मर्मतका लागि प्राविधिक टोली नेपालगञ्ज पुगेको छ । ‘सम्भवतः आज बन्छ होला’ उनले भने । निगमसँग उडान योग्य दुई ट्वीनअटर जहाज रहेकोमा एउटा लामो समयदेखि काठमाडौंमै ग्राउण्डेड रहेको छ ।

निगमसँग आन्तरिक उडानमा चिनियाँ जहाज भए पनि यी जहाज नउडाउने निर्णय गरी थन्किएका छन् । निगमले सातामा आधा समय पूर्वी पहाड र आधा समय पश्चिम पहाड तथा हिमाली भेगमा तालिका राखेर उडान गर्दै आएको छ ।