निर्वाचनका लागि भारत सरकारद्वारा २ सय सवारीसाधन सहयोग

काठमाडौं । आगामी निर्वाचन प्रयोजनका लागि भारत सरकारले उपहार स्वरूप २ सय गाडी नेपाल सरकारलाई प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट उपहार स्वरूप २ सय सवारीसाधन प्रदान गरेका हुन् ।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका सो सवारीसाधनमा १ सय २० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्ने बताइएको छ । सवारीसाधन प्रदान गरेपछि अर्थमन्त्री शर्माले यस्ता सहयोग लगायत विकास साझेदारीका रूपमा नेपाललाई निरन्तर सहयोग गरेको भन्दै भारत सरकार र भारतीय जनतालाई धन्यवाद व्यक्त गरे ।

यी सवारीसाधनले नेपालभर रहेका विभिन्न संस्थाको ढुवानी एवं प्रबन्धलाई व्यवस्थित बनाई निर्वाचनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सघाउ पुर्‍याउनेमा जोड दिइएको छ ।

भारत सरकारले नेपालमा निर्वाचन प्रयोगका लागि नेपाल सरकारको आग्रह बमोजिम विभिन्न समयमा गरी अहिलेसम्म २ हजार ४ सय गाडीहरू उपहार स्वरूप प्रदान गरेको छ ।