गोदामबाटै २ सय ७७ बोरा तिल र १ सय ५८ बोरा गहुँ गायब

काठमाडौँ । कुलेश्वरको अभिषेक ट्रेडर्सबाट सिल गरिएको २ सय ७७ बोरा तिल र १ सय ५८ बोरा गहुँ गायब भएको छ । गत असोज ३० मा वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलगायतका निकायले सो ट्रेडर्समा छापा मार्दा म्याद गुज्रिएको तिल, नरिवल, गहुँ फेला पारेको थियो ।

विभागले त्यसै दिन सार्वजनिक गरेको दैनिक अनुगमन प्रतिवेदनमा म्याद गुज्रिएको र अधिकतम खुद्रा बिक्री मूल्य स्पष्ट नभएको १८ बोरा नरिवल, ३ सय १७ बोरा तिल, १ सय ५८ बोरा गहुँ फेला पारेको उल्लेख गरेको थियो ।

बरामद भएको खाद्यवस्तुको परीक्षण गर्ने वा नगर्ने विषयमा वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच विवाद भएको स्रोतको दावी छ । गोदाम सिल गर्ने मुचुल्कामा हस्ताक्षर गर्ने विषयमा पनि विवाद भएको छ । अनुगमनमा खटिएका अधिकारीहरु भने उक्त गोदाममा झण्डै २ सय बोरा जिरा पनि म्याद गुज्रिएको अवस्थामा फेला परेको बताउँछन् ।