विचारभन्दा माथि उम्मेदवार

काठमाडौँ । यसपालिको संसदीय निर्वाचनमा मधेसका सबैजसो निर्वाचन क्षेत्रका उम्मेदवारले दल परिवर्तन गरेर मतदातालाई नै आश्चर्यमा पारेका छन् । कुन विचारधारा, कुन पृष्ठभूमि र कुन दल भन्नेमा यसपालि उम्मेदवारले पर्वाह नै गरेका छैनन् । जुन दलबाट टिकट पाइन्छ, त्यही दल छानेका उम्मेदवारबीच केका आधारमा फरक छुट्याउने ? मतदाता अन्योलमा छन् ।

लबदल प्रवृत्ति कांग्रेस, एमाले, माओवादी, जसपा र लोसपामा एकनास छ । माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अशोककुमार मण्डल पार्टी परित्याग गरी सप्तरी–१ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । विद्रोहकालदेखि नै माओवादीमा सक्रिय उनी दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ निर्वाचित पनि भएका थिए । सत्ता गठबन्धनबाट कांग्रेस जिल्ला सभापति रामदेव साहले टिकट पाएपछि माओवादीका मण्डलले उम्मेदवारी दर्ताको अघिल्लो राति पार्टीका सबै पदबाट राजीनामा दिएका हुन् ।

अघिल्लो निर्वाचनमा राजपाबाट निर्वाचित मधेसका सामाजिक विकासमन्त्री नवलकिशोर साह यसपालि यही निर्वाचन क्षेत्रमा जसपाबाट उम्मेदवार बनेका छन् । उनी एमालेसहितको गठबन्धनका उम्मेदवार हुन् । अघिल्लो निर्वाचनमा जसपाबाट निर्वाचित सूर्यनारायण यादवले टिकट नपाएपछि भाइ चन्द्रनारायण यादव उम्मेदवार बनेका छन् । दोस्रो संविधानसभामा पनि उनी पार्टीका आधिकारिक उम्मेदवार बनेर दोस्रो भएका थिए । माओवादीका महेश यादव पनि एक रातअघि माओवादी परित्याग गरी जनमत पार्टीबाट सप्तरी–२ ९२० मा प्रदेशसभा सदस्यका उम्मेदवार छन् ।

सप्तरी–२ मा उम्मेदवार बनेका उपेन्द्र यादवलाई अघिल्लो निर्वाचनमा महन्थ ठाकुर नेतृत्वको राजपाले सघाएपछि जयप्रकाश ठाकुर पार्टी छाडेर स्वतन्त्र उम्मेदवार बनेका थिए । यसपालि भने उनी लोसपाबाट प्रतिस्पर्धा गर्दै छन् । उनलाई सत्ता गठबन्धनको साथ छ । एमालेको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् भने जनमत अध्यक्ष चन्द्रकान्त ९सीके० राउत पनि यही क्षेत्रबाट प्रतिस्पर्धामा छन् ।

सप्तरी–३ मा गठबन्धनका तर्फबाट कांग्रेसका दिनेशकुमार यादव उम्मेदवार भए पनि लोसपाका लक्ष्मीकान्त मण्डल प्रतिस्पर्धामा छन् । पार्टीको टिकट फोटोकपी गरेर आफ्नो नाम लेखेर उम्मेदवारी दिएको आरोप लगाउँदै लोसपाले उनीविरुद्ध विज्ञप्ति जारी गरेको छ । तर, मण्डलको चुनाव चिह्न भने साइकल नै छ । यो निर्वाचन क्षेत्रमा एमालेका ताराकान्त चौधरी जसपाको समर्थनमा उम्मेदवार छन् ।

सप्तरी–४ ९२० मा जसपाबाट रेणु यादवका छोरा अभिषेक यादवले टिकट पाएपछि पार्टी केन्द्रीय सदस्य अनिरुद्धप्रसाद सिंह यादव स्वतन्त्र उम्मेदवार बनेका छन् । उनका छोरा आदेशकुमार सिंह यादव बोदेबरसाइन नगरपालिकाको प्रमुखमा जसपाबाट निर्वाचित भएका छन् । उनी राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंहका भाइ हुन् । मृगेन्द्रकुमार पनि शाहीकालमा क्षेत्रीय प्रशासक भएका थिए, मधेस आन्दोलनपछि जसपामा आबद्ध उनी पार्टी विभाजन हुँदा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरममा लागेर कृषिमन्त्री पनि भए । २०७४ को निर्वाचनमा राजपाबाट सप्तरी–४ मा उनी उम्मेदवार बन्दा भाइ अनिरुद्धले संघीय समाजवादी फोरमबाट प्रतिस्पर्धा गरेका थिए । तर दुवै भाइ कांग्रेसका तेजुलाल चौधरीसँग पराजित भए । त्यसपछि भएको राष्ट्रिय सभा निर्वाचनमा एमालेको समर्थनमा राजपाबाट उम्मेदवार थिए, भाइ अनिरुद्ध यसपालि पनि प्रतिस्पर्धी थिए । तर भाइलाई पराजित गरेर उनी राष्ट्रिय सभा सदस्य हुँदै मन्त्री पनि भए । त्यसयता उनी जसपाको केन्द्रीय कार्यकारिणी समितिमा छन् ।

सिरहा–१ मा जसपाकी पूर्वसांसद सरिता गिरीले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । जसपाले भने एमालेका रामशंकर यादवलाई समर्थन गरेको छ । सत्ता गठबन्धनबाट कांग्रेसका पद्मनारायण चौधरी प्रतिस्पर्धामा छन् ।

सिरहा–२ मा सत्ता गठबन्धनबाट कांग्रेसकी चित्रलेखा यादव र एमाले नेतृत्वको गठबन्धनबाट जसपाका राजकिशोर यादव उम्मेदवार छन् । पूर्वमाओवादी नेता रामरिझन यादव स्वतन्त्र उम्मेदवार बनेका छन् । जनमोर्चाबाट २०५१ र २०५६ मा उम्मेदवार बनेका उनी माओवादीबाट नयाँ शक्ति हुँदै पछिल्लो समय जसपामा थिए ।

सिरहा–३ मा सत्ता गठबन्धनबाट माओवादीका विश्वनाथ साह र प्रतिपक्षी गठबन्धनबाट एमालेका लीलानाथ श्रेष्ठ उम्मेदवार छन् । प्रदेशसभातर्फ सिरहा–३ ९१० जसपाको समर्थनमा एमालेका तर्फबाट मनोजकुमार सिंह उम्मेदवार बनेका छन् । २०७४ मा जसपाबाट प्रतिस्पर्धा गरेका उनी यसपालि पनि टिकटका आकांक्षी थिए । तर, यो निर्वाचन क्षेत्र एमालेलाई परेपछि मनोनयन दर्ता गर्नुअघि मात्र एमाले प्रवेश गरेका हुन् ।

त्यस्तै प्रदेशसभाको निर्वाचन क्षेत्रमा गठबन्धनबाट एकीकृत समाजवादीका प्रमोदकुमार यादवले उम्मेदवारी पाएका छन् । तर, उनका विरुद्ध कांग्रेसका सञ्जयप्रकाश यादव उम्मेदवार बनेका छन् । त्यस्तै गत ३१ भदौमा केपी शर्मा ओली सिरहाको चोहर्वामा आएर जसपाका गोपाल यादवलाई एमालेमा प्रवेश गराएका थिए, तर प्रदेशसभाको निर्वाचन क्षेत्र जसपाको भागमा परेपछि रेनु यादव उम्मेदवार बनिन् । तीन महिनाअघि मात्र एमाले प्रवेश गरेका गोपाल यादव अहिले स्वतन्त्र उम्मेदवार बनेका छन् । त्यस्तै सिरहा नगरपालिकाको प्रमुखमा एमालेबाट निर्वाचित नवीनकुमार यादवका भाइ प्रवीनकुमार यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

२०५६ मै एमालेबाट निर्वाचित, २०६४ मा पराजित र २०७० मा समानुपातिकबाट सांसद बनेका धर्मनाथ साह यसपालि एकीकृत समाजवादीबाट उम्मेदवार छन् । उनको प्रतिस्पर्धामा एमालेको समर्थनमा जसपाका वीरेन्द्रकुमार महतो छन् ।

धनुषा–१ मा सत्ता गठबन्धनबाट माओवादीका मातृका यादव र प्रतिपक्षी गठबन्धनबाट जसपाका दीपक कार्की प्रतिस्पर्धामा छन् । एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित किशोरी साह (कमल) यसपालि सीके राउत नेतृत्वको जनमत पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवार छन् । त्यस्तै माओवादीबाट प्रदेशसभा ९२० मा अघिल्लो पटक माओवादीबाट निर्वाचित रामचन्द्र मण्डल यसपालि एमाले उम्मेदवार छन् ।

धनुषा–२ मा जसपाका पूर्वसांसद उमाशंकर अरगरिया यसपालि पनि उम्मेदवार छन्, तर एमालेबाट । यो निर्वाचन क्षेत्रमा एमाले र जसपाबीच तालमेल छैन । अरगरियालाई एमालेले लगेपछि जसपाले पनि एमालेका आनन्द यादव ९गंगाराम० लाई पार्टी प्रवेश गराएको छ । उनी पनि प्रतिस्पर्धामा छन् ।

जनकपुरको रामसागर रामस्वरूप बहुमुखी क्याम्पसमा कांग्रेसनिकट नेविसंघको अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका अरगरिया २०६२र०६३ को आन्दोलनपछि मधेसी जनअधिकार फोरममा आबद्ध भएका थिए । फोरमबाट विभाजन हुँदा उनी लोकतान्त्रिकको धनुषा जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र विदेश विभाग प्रमुख भएका थिए । पछि संघीय समाजवादी फोरममा फर्किएर गत निर्वाचनमा निर्वाचित भएका थिए । जसपा विभाजनका बेला लोसपामा आबद्ध भएर ओली नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उडड्यनमन्त्री पनि भएका थिए ।

त्यस्तै यो निर्वाचन क्षेत्रबाट रामचन्द्र झा पनि उम्मेदवार छन् । उनी पछिल्ला हरेक निर्वाचनमा फरक–फरक दलबाट उम्मेदवार बनेका छन् । २०६४ मा एमाले, २०७० मा माओवादी र २०७४ मा नयाँ शक्तिबाट प्रतिस्पर्धा गरेका उनी यसपालि एकीकृत समाजवादीका उम्मेदवार छन् । तर गठबन्धनका तर्फबाट माओवादी समर्थनमा कांग्रेसका रामकृष्ण यादव उम्मेदवार छन् ।

धनुषा–३ मा सत्ता गठबन्धनबाट लोसपाका अनिल झा र प्रतिपक्षी गठबन्धनबाट एमालेकी जुली महतो उम्मेदवार छन् । यो निर्वाचन क्षेत्रमा नयाँ शक्तिबाट जसपामा समाहित भएका उमेश साह अहिले स्वतन्त्र उम्मेदवार छन् ।

धनुषा–४ मा एमालेका रघुवीर महासेठसँग कांग्रेसका महेन्द्र यादव मात्र होइन, जसपाका महाजन यादव पनि प्रतिस्पर्धामा छन् । उनीहरू तीनै जना अघिल्लो निर्वाचनमा पनि प्रतिस्पर्धी थिए जसमा वाम गठबन्धनका महासेठ विजयी भएका थिए ।

यो निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका सन्तोष यादव उम्मेदवार बनेका छन् । उनीसँग जसपाका ज्ञानेन्द्रकुमार यादव र कांग्रेसका शेषनारायण यादवले प्रतिस्पर्धा गर्दै छन् । पार्टीका पूर्वजिल्ला उपसभापति सन्तोष एमालेमा प्रवेश गरेपछि कांग्रेसले पनि जसपाका शेषनारायणलाई भित्र्याएर उम्मेदवार बनाएको हो ।

२३ असोज बिहान जसपा परित्याग गरी एमाले प्रवेश गरेका लक्ष्मी महतोले दिउँसो महोत्तरी–१ बाट उम्मेदवारी दर्ता गराए । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न रहेको आरोपमा उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी फरार छन् ।

उच्च अदालत जनकपुरका न्यायाधीश पुष्पराज कोइराला र प्रभा बस्नेतको संयुक्त इजलासले महतोलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामै राखी पुर्पक्ष गर्न २०७७ मंसिर १९ गते आदेश दिएको थियो । उनले उम्मेदवारी पनि वारेसमार्फत दर्ता गराएका हुन् । गत संविधान दिवसमा राष्ट्रपतिबाट प्रबल जनसेवाश्री पाउनेमा उनको पनि नाम थियो ।

एमाले र जसपा गठबन्धनमा महोत्तरी–१ एमालेको भागमा परेपछि महतो जसपा छाडेर एमाले प्रवेश गरेका हुन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा सद्भावना पार्टीबाट उम्मेदवार भएका महतो ०७४ मा संघीय समाजवादी फोरमबाट उठेका थिए । उनका छोरा दीपेन्द्र महतो गौशाला नगरमा जसपाबाट निर्वाचित मेयर हुन् ।

यहाँको प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट माओवादीका भरत साह उम्मेदवार छन् । मधेसका आन्तरिक मामिलामन्त्रीसमेत रहेका साहविरुद्ध माओवादीकै विष्णुबहादुर योञ्जनले उम्मेदवारी दिएका छन् । त्यस्तै एमालेको समर्थनमा जसपाका राम श्रेष्ठ महतो उम्मेदवार बनेका छन् भने उनकै दलका विनोदकुमार महतोले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

महोत्तरी–२ मा एमालेबाट रामपरीक्षण यादव र लोसपाका शरतसिंह भण्डारी उम्मेदवार छन् । उनीहरू दुवैलाई आ–आफ्नो गठबन्धनको साथ छ । प्रदेशसभातर्फ भने (२) बाट लोसपाकी निवर्तमान प्रदेशसभा सदस्य सुरिता साह यसपालि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेकी छन् ।

महोत्तरी–३ मा सत्ता गठबन्धनबाट लोसपाका महन्थ ठाकुर र प्रतिपक्षी गठबन्धनबाट जसपाका हरिनारायण यादव उम्मेदवार छन् । गठबन्धनमा जसपाले उम्मेदवारी पाएपछि एमालेका रामआधार कापर स्वतन्त्र उम्मेदवार बनेका छन् ।

महोत्तरी–४ मा पनि सत्ता गठबन्धनबाट कांग्रेसका महेन्द्रकुमार राय र जसपाका सुरेन्द्र यादव उम्मेदवार छन् । आफूलाई एमालेका तत्कालीन सांसदहरू महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनालले अपहरण गरेको भनेर काठमाडौं प्रहरीमा उजुरी दिएका यादवलाई यसपालि एमालेकै भरोसा छ ।

प्रदेशसभा (१) मा जसपाले एमालेका सरोजकुमार यादवलाई समर्थन गरेपछि जसपाका कौशलकिशोर यादव लोसपाबाट उम्मेदवार बनेका छन् । गत निर्वाचनमा प्रदेशसभामा विजयी उनी संविधानसभामा पनि निर्वाचित भएका थिए ।

लालबन्दी नगरका पूर्वप्रमुख मानबहादुर खड्का एमाले परित्याग गरी सर्लाही–१ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । यो निर्वाचन क्षेत्रमा एमालेले जसपाका प्रमोद साहलाई समर्थन गरेको छ । अघिल्लो निर्वाचनमा उनी राजपाबाट निर्वाचित भएका थिए । यसपालि लोसपाबाट रामप्रकाश चौधरी उम्मेदवार छन्, उनलाई सत्ता गठबन्धनको साथ छ ।

अघिल्लो पटक राजपाबाट निर्वाचित नेता राजेन्द्र महतो र महिन्द्र राय यादव यसपालि सर्लाही–२ मा आमनेसामने छन्, यद्यपि उनीहरू दुवैको दल सत्ता गठबन्धनमा छन् । एमालेका पूर्वसांसद महिन्द्र संविधानसभा निर्वाचनपछि २०६४ मा तमलोपा, २०७० मा तमसपा, २०७४ मा राजपाबाट उम्मेदवार थिए भने यसपालि माओवादी उम्मेदवार छन् ।

लोसपा सत्ता गठबन्धनमा भए पनि सर्लाही–२ मा कांग्रेस र एकीकृत समाजवादीले माओवादी उम्मेदवार महिन्द्रलाई समर्थन गरेका छन्, महतो आफ्नै दलको बलबुतामा मात्र उम्मेदवार छन् । यो निर्वाचन क्षेत्रमा एमालेका राजनारायण साह प्रतिस्पर्धामा छन् ।

सर्लाही–३ मा सत्ता गठबन्धनका तर्फबाट माओवादीका नरेन्द्र साह र प्रतिपक्षी गठबन्धनबाट एमालेका हरिप्रसाद उप्रेती उम्मेदवार छन् । २०७० मा राजेन्द्र महतोको सद्भावनाबाट समानुपातिक सांसद बनेका साह २०७४ मा स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्दा माओवादीका रामेश्वर राय यादवसँग पराजित भएका थिए । यसपालि भने उनी आफैं माओवादी उम्मेदवार बनेका छन् ।

सर्लाही–४ मा पूर्वसांसद अमरेश सिंह स्वतन्त्र उम्मेदवार छन् । यो क्षेत्रबाट कांग्रेसले नागेन्द्र कुमारलाई प्रतिस्पर्धी बनाएको छ । त्यस्तै एमाले गठबन्धनबाट जसपाका राकेशकुमार मिश्र उम्मेदवार छन् । २०६४ मा माओवादीबाट निर्वाचित भएर रातो पासपोर्ट बेचेको अभियोग लागेका शिवपुजन राय यादवको उम्मेदवारी गत निर्वाचनमा खारेज भएको थियो । यसपालि उनले छोरी मधुमालाकुमारी यादवलाई स्वतन्त्र उम्मेदवार बनाएका छन् । मधुमालाको पोस्टरमा बाबुको पनि फोटो छापिएको छ जबकि उनकी आमा माओवादीको समानुपातिकतर्फ उम्मेदवार छिन् । त्यस्तै छोरा राजाबाबु रामनगर गाउँपालिकाका अध्यक्ष छन् ।

रौतहट–१ मा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल सत्ता गठबन्धनबाट उम्मेदवार छन् । उनीसँगको प्रतिस्पर्धामा एमालेले अजयकुमार गुप्तालाई उतारेको छ । उनी एमालेमा नयाँ हुन् । गत स्थानीय निर्वाचनमा गौर नगरको प्रमुखमा लोसपाबाट प्रतिस्पर्धा गरेका उनी एकीकृत समाजवादीका शम्भु साहसँग पराजित भएपछि बालकोट पुगेर एमाले प्रवेश गरेका थिए । उनी २०७० को निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकबाट एमालेका तत्कालीन उम्मेदवार नेपालसँगै प्रतिस्पर्धा गरेका थिए । २०७४ मा लोकतान्त्रिक फोरम छाडी उनी राजपा प्रवेश गरेर गौर नगरपालिकाको प्रमुखमा विजयी भएका थिए । त्यस्तै शाहीकालमा पनि उनी नगर प्रमुख बनेका थिए ।

रौतहट–२ मा सत्ता गठबन्धनले पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका छोरा फिरदोस आलमलाई उम्मेदवार बनाएको छ । आफ्नै घाइते कार्यकर्तालाई जिउँदै इँटाभट्टामा हालेको अभियोगको पुर्पक्षका लागि नख्खु कारागारमा रहेका आलमका छोरा फिरदोसलाई कांग्रेस र गठबन्धनले उम्मेदवार बनाएका हुन् । उनीसँगको प्रतिस्पर्धामा एमालेका प्रदेश कमिटी सदस्य शैलेन्द्र साह छन्, तर एमालेबाट होइन जसपाबाट । गठबन्धन गर्दा यो क्षेत्र जसपाको भागमा परेपछि साह जसपातिरै लागेर उम्मेदवार बनेका हुन् । उनी २०६४ मा स्वतन्त्र उम्मेदवार थिए ।

रौतहट–३ मा एमालेका तत्कालीन पोलिटब्युरो सदस्य प्रभु साह नै स्वतन्त्र उम्मेदवार बनेका छन् । माओवादी छाडेर एमाले प्रवेश गरेका साहले पार्टीको टिकट खल्तीमा राखेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनले अन्तिम घडीमा धोका दिएपछि एमालेले उम्मेदवारी दिन पाएन । प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गरेको छ तर माओवादीका तर्फबाट उम्मेदवार बनेका रवीन्द्र पटेलले आफ्नो उम्मेदवारी फिर्ता लिन मानेनन् । उनी पनि सक्रियतापूर्वक मैदानमा छन् । साह माओवादीबाट २०६४ र २०७० को संविधानसभा तथा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट–३ बाट निर्वाचित भएका थिए । तत्कालीन नेकपा विभाजित भएपछि एमालेतर्फ लागेका साहको सांसद पद खारेज भएको थियो ।

प्रभु साहले आफूसँगै एमालेमा प्रवेश गरेका किरण साह रौतहट–२ बाट र प्रदीप साहलाई रौतहट–४ बाट स्वतन्त्र उम्मेदवार बनाएका छन् । रौतहट–४ मा सत्ता गठबन्धनबाट कांग्रेसका देव तिमिल्सिना र प्रतिपक्षी गठबन्धनमा उद्धव रेग्मी उम्मेदवार छन् । त्यस्तै कांग्रेसका पुराना नेता अजयकुमार साह पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवार छन् ।

बारा–१ मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उमाकान्त चौधरी र प्रतिपक्षी गठबन्धनबाट एमालेका अच्युत मैनाली प्रतिस्पर्धामा छन् । यो निर्वाचन क्षेत्रको (१) मा एमालेका त्रिलोकीप्रसाद चौधरी उम्मेदवार छन् भने एमालेकै नेता एकराज श्रेष्ठले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्दै छन् । (२) बाट लोसपाका पूर्वसांसद तथा प्रदेशसभाका सभामुख सरोजकुमार यादव यसपालि जसपाबाट उम्मेदवार छन् । त्यस्तै यही क्षेत्रमा कांग्रेसका नागेन्द्र साह र एकीकृत समाजवादीका बतहु यादव पनि प्रतिस्पर्धामा छन् ।

त्यस्तै बारा–२ मा माओवादीका शिवचन्द्र कुशवाह सत्ता गठबन्धनका उम्मेदवार हुन् भने कांग्रेस जिल्ला सभापति राजेश राय यादवका भाइ रोशन यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसपाका रामसहाय यादव प्रतिपक्षी गठबन्धनबाट उम्मेदवार छन् । पूर्वमन्त्री यादवविरुद्ध जसपाकै केन्द्रीय सदस्य रामकिशोर यादव पनि उम्मेदवार छन् ।

बारा–३ मा सत्ता गठबन्धन, एमाले र जसपाका उम्मेदवार छन् । एमालेबाट ज्वालाकुमारी साह उम्मेदवार छिन् । उनी यसअघि माओवादीबाट प्रदेशसभामा निर्वाचित भएकी थिइन् भने संविधानसभामा समानुपातिक सांसद् बनेकी थिइन् । उनीविरुद्ध जसपाका प्रदेश कमिटी अध्यक्ष रामबाबु यादव उम्मेदवार छन् । सत्ता गठबन्धनमा भागबन्डा गर्दा यो क्षेत्र लोसपाले पाएपछि कांग्रेस नेता लालबाबु सिंह नै लोसपा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । दुई कार्यकाल पार्टीको जिल्ला सभापति भएका उनी यसपालि बारा–४ बाट सिफारिसमा परेका थिए । तर यो क्षेत्र समाजवादीको भागमा परेपछि उनले कांग्रेस परित्याग गरेका हुन् ।

बारा–४ मा सत्ता गठबन्धनका कृष्णकुमार ९किसन० श्रेष्ठ जिल्ला र पार्टी परिवर्तन गरेर मैदानमा छन् । अघिल्लो निर्वाचनमा एमालेबाट तनहुँ–१ मा निर्वाचित श्रेष्ठ यसपालि बारा आएर समाजवादीबाट प्रतिस्पर्धा गर्दै छन् । कांग्रेसका इच्छाबहादुर वाग्लेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यो क्षेत्रबाट एमालेले एकवाल मियाँलाई उठाएको छ, उनी २०७४ मा प्रतिनिधिसभा सदस्यमा राजपाबाट निर्वाचित भएर मन्त्री पनि भएका थिए । सत्ता गठबन्धनले बारा–४ एकीकृत समाजवादीलाई दिएपछि उनी लोसपा परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।

पर्सा–१ मा सत्ता गठबन्धनका तर्फबाट लोसपाले उम्मेदवारी पाएपछि कांग्रेसका अजय द्विवेदी स्वतन्त्र उम्मेदवार बनेका छन् । यहाँ लोसपाका लक्ष्मणलाल कर्ण र प्रतिपक्षी गठबन्धनबाट जसपाका प्रदीप यादव प्रतिस्पर्धामा छन् ।

पर्सा–२ बाट कांग्रेसका अजयकुमार चौरसिया र जसपाका सुरेन्द्रप्रसाद कुर्मी उम्मेदवार छन् । उनीहरूलाई आ–आफ्नो गठबन्धनको सहयोग छ । त्यस्तै पर्सा–३ मा कांग्रेसका सुरेन्द्र चौधरी र एमालेका राजकुमार गुप्ता उम्मेदवार छन् । उनीहरूलाई पनि सहयोगी दलको समर्थन छ ।

पर्सा–४ मा सत्ता गठबन्धनका उम्मेदवार रमेश रिजालसँग प्रतिस्पर्धामा रहेका एमालेका जालिम मियाँको राजनीतिक यात्रा पनि अनौठो छ । गतवर्ष ८ पुसमा केपी ओलीलाई हेलिकोप्टरबाटै गाउँमा उतारेर एमाले प्रवेश गरेका जालिमले २०६५ मा पहिलो संविधानसभापछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाललाई हेलिकोप्टरबाट गाउँमा उतारेर माओवादीको टिका लगाएका थिए ।

उनी २०२९ सालमा वडाध्यक्ष र २०३५ मा जगरनाथपुर गाउँ पञ्चायतको प्रधानपञ्च भएका थिए । २०४६ मा बहुदल आएपछि कांग्रेस प्रवेश गरेर इलाका सदस्यमा निर्वाचित भएका थिए ।

२०६२र०६३ को जनआन्दोलनका क्रममा जालिम पनि पक्राउ परेका थिए । तर अरू नेता रिहा भए पनि जालिम भने थप २ महिना कारागारमा बसेका थिए, वन मुद्दाको फरार अभियुक्त रहेका जालिमलाई प्रहरीले यही बेला अदालतमा पेस गरी कारागार पठाएको थियो । जिल्ला अदालत हुँदै सर्वोच्चसम्म चलेको उक्त मुद्दामा जालिममाथि २ महिना कैदको सजाय तोकिएको थियो ।

माओवादी प्रवेश गरेपछि उनी केन्द्रीय सल्लाहकारसमेत बनाइए । २०७४ को स्थानीय तह निर्वाचनमा उनी माओवादीबाटै जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । तर भाइ मोसालिमलाई गाउँपालिका अध्यक्ष र आफू संसद्को उम्मेदवार बन्ने निश्चित गरेर उनी एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्दा गाउँपालिका अध्यक्ष भएकाले ओलीको कार्यक्रममा लागेको ३५ लाख खर्च पालिकाबाटै तिराएका थिए । भाइले टिकट पाए पनि गाउँपालिका अध्यक्षमा हारे भने दाजु अहिले प्रतिस्पर्धामा छन् । कान्तिपुरपोष्टबाट