सरकारी कार्यालयको सेवा प्रभावित

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्मचारी खटिएका कारण सरकारी कार्यालयको सेवा प्रभावित भएको छ ।

जिल्लाका अधिकांश कर्मचारी निर्वाचनका लागि खटाइएका कारण करिब १ हप्ताका लागि सरकारी कार्यालयको सेवामा  प्रभाव हुने भएको छ्। निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीसहित जिल्लामा २ हजार ४ सय १६ कर्मचारी खटाइएका छन् । 

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचनका लागि सङ्घ, प्रदेश, स्थानीय तहअन्तर्गतका कर्मचारीसँगै अर्धसरकारी कार्यालयका प्रमुखहरु र शिक्षकलाई पनि खटाइएको छ ।

जिल्लास्थित अधिकांश कार्यालयका प्रमुखदेखि खरिदारसम्मका कर्मचारीहरु निर्वाचनमा खटिएकाले अधिकांश कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ ।

उनको भनाई अनुसार निर्वाचनमा खटिने कर्मचारीले २९ र ३० गते निर्वाचन सामग्री बुझ्ने भएको हुँदा सेवा प्रभावित हुने निश्चित छ । निर्वाचनलाई सभ्य र व्यवस्थितरूपमा सम्पन्न गर्नुपर्ने मुख्य प्राथमिकता भएकाले सरकारी कार्यालयमा अत्यावश्यक सेवाबाहेकका सेवा प्रवाह गर्न बाध्य पारिने छैन ।

अधिकांश स्थानीय तहहरुले कात्तिक २९ देखि मङ्सिर ५ गतेसम्म अत्यावश्यकबाहेकका अन्य सेवाहरु बन्द रहने सार्वजनिक सूचना नै जारी गरिसकेको छ ।

निर्वाचनका लागि जिल्लामा रहेका कार्यालय प्रमुख वा अधिकृत सरहका कर्मचारीलाई मतदान अधिकृतका रूपमा जिम्मेवारी दिइएको छ भने नायव सुब्बा सरहका कर्मचारीलाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । सोबाहेकका कर्मचारीलाई सहायक कर्मचारीका रूपमा खटाइएको छ ।

निर्वाचन सम्पन्न गर्नका लागि यहाँ रहेका हरेक मतदान केन्द्रमा मतदान अधिकृतसहित ८ जना कर्मचारी परिचालन गरिएको छ । प्रत्येक मतदान केन्द्रमा ८ जनाका दरले कर्मचारी परिचालन गरिएको छ ।