‘जित जनताको, जिम्मेवारी मेरो’ : नव निर्वाचित सोविता गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी हुन्। उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुँयाललाई पराजित गर्दै निर्वाचित भएकी हुन्। गौतमले १५ हजार २२९ मत प्राप्त गरिन् भने फुँयालले ११ हजार ५५५ मत ल्याए। उता पोखरेलले ११ हजार १४ मत ल्याउँदा ओनसरी घर्तीले ९ हजार ४४९ मत ल्याइन्। अधिवक्ता गौतम यसअघि न त राजनीतिमा आवद्ध थिइनन् न त उनको परिवार कुनै राजनीतिक पृष्ठभूमिबाट आएको हो। उनी पहिलो यात्रामै सफल भएकी उम्मेदवार हुन्। निर्वाचित भएपछिको योजनाबारे गौतमसँग अन्नपूर्ण पोस्ट्का तारा चापागाईंले गरेको कुराकानी स्

प्रतिनिधिसभामा आफ्नो जित भएसँगै कस्तो महसुस गर्नुभएको छ ? पहिलोपटक उम्मेदवार बनेर सफलता हासिल गर्दा चकित पो पर्नु भएको छ कि ?

यो जित मेरोभन्दा पनि काठमाडौ क्षेत्र २ को मतदाताको हो। किनभने म यस क्षेत्रको सांसद बन्ने योग्य उम्मेदवार हुँ। सदनमा गएर जनताका समस्या राख्न सक्ने व्यक्ति हुँ भनेर दाबी गरिहेकै थिएँ। केवल छान्ने जिम्मा उहाँहरूलाइ दिइएको थियो। मतदाताहरूबीचमा प्रतिस्पर्धा भइरहेकै थियो।

जुन सांसदले जनताको इच्छा, आकांक्षा पूरा गर्छ जस्तो लाग्छ, उहाँहरूले उसैलाई मत हाल्ने हो। त्यसैले यो कुनै व्यक्तिको जित होइन, जनताको जित हो। यो जितलाई मैले स्वाभाविक रूपमा लिएको छु। पार्टीको तर्फबाट हेर्दा नतिजा राम्रो प्राप्त हुन्छ भन्ने विश्वास थियो। सकारात्मक नतिजा आउँछ भन्नेमा हामी विश्वस्त भएकोले यसलाई सोहीअनुरूप लिएका छौं। जनताले म माथि विश्वास गरेकोमा खुसी छु। स्वभाविक प्रक्रियाको जित हो चकित हुनुपर्ने खासै छैन।

तपाईं अधिवक्ता भइरहँदा कसरी राजनीतिमा आउने इच्छा जाग्यो ?

म र मेरो परिवार कुनै राजनीतिक पृष्ठभूमिबाट जोडिएको होइन्। तर, समाजमा रहेका सामाजिक मुद्दाहरूमा जोडिएको सधैभरी सचेत रहने र समाजमा केही गर्नुपर्छ भनेर सक्रियता जनाउने मेरो परिवार चाहीँ अवश्य हो। सामाजिक मुद्दाहरूसँग परिचित हुँदाहुँदै राजनीति जोडिएको महसुस हुँदोरहेछ। सबै कुराको जड नै राजनीति नै रहेछ भन्ने हामीले बुझ्यौं। त्यसैले जीवनको कुनै क्षणमा राजनीतिमा जोडिन्छु समाज परिवर्तनमा लाग्छु भन्ने लाग्थ्यो। तर, कहिले कहाँ, कसरी भन्ने थिएन। त्यहीबेला राष्ट्रिय स्वतन्त्र पार्टी उदाउँदै गर्दा यसका सभापति रवी लामिछानेलगायत सबै मिलेर छलफल अन्तक्रिया गरी निष्कर्षमा पुग्यौं। यसपछि मैले पनि राजनीतिमा पाइला चाल्ने निर्णय गरे। यसैबाट मेरो राजनीतिक पहिलो यात्रा सुरु भयो र आज सफलता पनि मिलेको छ।

युवामा राजनीतिप्रति वितृष्णा बढेका बेला राजनीति सुरुवात गर्नुभयो। जनताको अपेक्षा पूरा हुने गरी कसरी कामलाई अगाडि बढाउनु हुन्छ ?

राजनीतिलाई हेर्ने नजर फरक–फरक हुन सक्छ। यो एउटा सुन्दर पक्ष पनि हो। पहिला जति पनि निर्वाचित जनप्रतिनिधिहरू हुनुहुन्थ्यो उहाँहरूले आ–आफनो तरिकाले काम गर्नुभयो। अहिले सरकारको संरचना पनि नयाँ छ। देशमा तीन तहका सरकार छन्। सबैको आ–आफनै जिम्मेवारी छन्। हामीले तीन तहको सरकारको परिकल्पना गरिहँदा सबैले मिलेर जिम्मेवारीपूर्वक काम गर्यो भने काम सहज हुन्छ।

हामी संघ सरकारमा भएकोले नीति बनाउँछ। स्थानीय सरकारले त्यसलाई कार्यान्वयन गर्छ। यसमा मिडियाको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। कार्यान्वयन भए नभएको विषयमा मिडियाले पनि वाच डगको भूमिका निर्वाह गर्न सक्छ। त्यसैले हामी एकीकृत मोडलमा जानुपर्छ भन्ने मेरो बुझाइ हो। यसरी सबै मिलेर एकीकृत मोडलमा काम गर्यौं भने हामीले चाहेको परियोजना, विकास जनताको आवश्यकता एकै चोटी ल्याउन नसकिएला तर परिवर्तन सम्भव छ।

लामो समयदेखि राजनीतिमा सक्रिय नेतालाई पराजित गर्नुभएको छ। आगामी दिनमा कस्तो काम गरेर जनताको मन जित्नुहुन्छ ?

म के भन्छु भने उहाँहरू पराजित हुनु भएको होइन। उहाँले जुन एजेण्डा प्रस्तुत गर्नु भएको थियो त्योभन्दा फरक एजेण्डा ल्याएपछि जनताले मेरो विचारलाई मन पराएको हुनसक्छ। अथवा, मतदाताले मलाई बढी विश्वास गर्नु भएको हो। उहाँलाई पनि धेरै विश्वासका मतहरू प्राप्त भएका छन्। त्यसैले उहाँहरू पराजित हुनुभएको होइन। उहाँहरूको र हाम्रो सबैको सपना साकार पार्ने जिम्मेवारी म माथि थपिएको छ। हामीले जनतासँग वाचा गरेका कुरालाई अब सदनमा जाँदै गर्दा सम्बोधनपछि अनुमोदन गरेर अगाडि बढाउने तयारी गरेको छु।

तपाईंको अबको एजेण्डा के छ रु तपाईंप्रति विश्वास गर्ने जनतालाई के भन्नुहुन्छ ?

मैले पाँच वर्षको अवधिमा जनताका समस्या र आवश्यकतालाई निरन्तर उठाइरहनेछु। काठमाडौ क्षेत्र न २ का समस्या प्राथमिकतामा परेका कुराहरू उठाउनेछु। पहिलोपटक खानेपानीको समस्या रहेकोले त्यसमा बोल्नेछु। अर्को कुरा, मेरो प्राथमिकतामा कृषि पर्नेछ। यस क्षेत्रमा कृषि भू–भाग रहेकोले त्यसमा कृषकका आवश्यकतामा ध्यान दिनेछु। तेस्रो कुरा, यस क्षेत्रमा ढलको समस्या पनि उत्तिकै छ। सो समस्या कसरी समाधान गर्ने मेरो प्रयास त्यही रहनेछ। चौथो कुरा, बाटोको समस्या पनि प्राथकिमतामा पर्नेछ। यी ४ कुरालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने योजना बनाएको छु। जनताको समस्यालाई निरत्तर फलोअपमा काम गरिहनेछु। अन्त्यमा सम्पूर्ण मतदातालाई हार्दिक धन्यवाद पनि भन्न चाहान्छु। उहाँहरूले आफ्नो विवेक प्रयोग गरेर असल प्रतिनिधि चुनेर पठाउनु भएको छ। विश्वास बनाउनेछु। मतदाताले सबै विकासको पाटो सम्हाल्ने उपयुक्त पात्र यो नै हो भनेर पठाउनु भएको छ।

हजुरहरू मप्रति विश्वस्त हुनुहोस्। किनभने म इमानदार भएर राजनीतिमा आएको छु। इमानदारिता निभाउने छु। मलाई लागेको अर्को कुरा के भने मेरो जितले मतदातालाई विभिन्न प्रलोभन वा प्रभावमा पारेर मत जित्न सकिन्छ भन्ने परिपाटीको अन्त्य भएको छ। साथै, मतदाता पनि सचेत हुनुभएछ भन्ने लागेको छ। जनताको सोच र भरोसा परिवर्तन भएकोमा म खुसी छु। म जनतालाई के भन्छु जित तपाईंको हो भने जिम्मेवारी सोविताको। अन्नपूर्णपोष्टबाट