बागलुङको रणनीतिक सडक निर्माण सुरु

काठमाडौं । गलकोट नगरपालिका–५ हरिचौरबाट बडिगाड, निसीखोला गाउँपालिका हुँदै प्यूठान जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणको काम सुरुआत भएको छ ।

गलकोट–७ मल्ममा सडक स्तरोन्नतिको वडाध्यक्ष राजबहादुर थापाले शुभारम्भ गरे। सो अवसरमा उनले गलकोटमात्रै नभएर सिङ्गै पश्चिम बागलुङको विकासमा उक्त सडक मेरुदण्डका रूपमा रहने बताएका छन् ।
सडक विभागले ३० करोड ४३ लाखको ठेक्कामार्फत आयोजनाको काम अगाडि बढाएको हो । निर्माण कम्पनी लोपूर्ण कन्स्ट्रक्शन प्रालिका प्रबन्धक अमिन लामाले उक्त बजेटबाट ८ किमी सडक कालोपत्र गरिने बताए।

यसैगरी सुरुको चरणमा मल्म र हरिचौरबाट गरी दुई खण्डमा कालोपत्रका लागि पूर्वाधार तयारीको काम गरिने उनको भनाइ छ । कुनै अवरोध नभएमा ३० महिनाभित्रैमा काम सक्ने हाम्रो लक्ष्य छ, प्रबन्धक लामाले भने अनुसार ११ किमीमा सडक कटिङ हुन्छ, ८ किमी जति कालोपत्र हुन्छ ।