गठबन्धनकै सरकार बन्ने दाहालको दाबी

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेकै गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । अध्यक्ष दाहालले अहिले सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयले प्रवेश नपाइसकेको भन्दै आवश्वक परेको खण्डामा माओवादीले पनि गठबन्धनको नेतृत्व लिने अवस्था आउन सक्ने बताएका छन् ।

‘सरकार गठबन्धनकै हुन्छ,’ उनले भने, ‘अहिले सरकार गठनको विषय चलिरहेको छ । तर नेपाली कांग्रेसको संसदीय दलको नेता को हुन्छ भन्ने विषय महत्त्वपूर्ण रहेको छ ।’ कांग्रेस दलको नेता चुनिएपछि सरकार गठनको विषयले तीव्रता लिने र आइपरे माओवादी सरकारको नेतृत्व गर्न तयार हुनुपर्ने दाहालले बताएका बैठकमा सहभागी एक माओवादी नेताले जानकारी दिएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको एक विद्यालयको कार्यक्रममा गएका दाहालले बुधबार बिहान पोखरामा पार्टीका केन्द्रीय सदस्य र गण्डकी प्रदेशका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।