अपाङ्गता भएका महिलाहरू रोजगारी तथा स्वरोजगारी मार्फत आत्मनिर्भर हुन सक्छन्

काठमाडाैँ ।  अपाङ्गता भएका महिलाहरूको रोजगारी तथा स्वरोजगारी प्रवद्र्धनका लागि अन्तरक्रिया एवम् वृचचित्र सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएकाे छ । अपाङ्गता भएका महिलाहरू पनि रोजगारी तथा स्वरोजगारी मार्फत नै आत्मनिर्भर हुन सक्छन् ।

उनीहरूलाई केवल अवसरको खाँचो छ” तथा “आर्थिक सशक्तिकरण नभएसम्म अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँच पुग्न सक्दैन । त्यसैले अपाङ्गता भएका महिलाहरूलाई आर्थिक रूपमा नै आत्मनिर्भर बनाउँनु पर्ने हुन्छ ।” भन्ने संदेश झल्काउने एक उत्प्रेरणात्मक वृतचित्र साेमबार काठमाडाैँमा  सार्वजनिक गरिएको छ ।

कार्यक्रममा  नेत्रहीन महिला संघ, नेपालले निर्माण गरेको सो वृतचित्र डिसेबिलिटी मिडिया सेन्टरको पोष्ट प्रोडक्सन तथा अपाङ्गता भएकी महिला भूमिकला पौडेलको कथा लेखन तथा न्यारेसनमा तयार भएको हो ।वृतचित्रले अपाङ्गता भएका महिलाहरूले रोजगारी तथा स्वरोजगारीमा आफूलाई अगाडि बढाउन सक्छन् र अन्याय हुँदा न्यायको लागि लड्न पनि आर्थिक स्वाबलम्वन नै जरूरी हुन्छ भन्ने विषयलाई विशेष जोड दिएको थियो ।

वृतचित्र सार्वजनिक गर्दै नेत्रहीन महिला संघ, नेपालले “अपाङ्गता भएका महिलाहरूको रोजगारी तथा स्वरोजगारी प्रवद्र्धनका लागि अन्तरक्रिया” समेत आयोजना गरेकाे थियाे । अपाङ्गता भएका महिलाहरूलाई रोजगार तथा स्वरोजगारका लागि के कस्ता अवसर तथा संभावनाहरू रहेका छन् भन्ने विषयमा सम्बन्धित रोजगारदाता निकायहरूलाई ध्यानाकर्षण गर्ने उद्धेश्यले सो अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

अन्तरक्रियामा सहभागी सरकारी, निजी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लगायतका प्रतिनिधीहरूले अपाङ्गता भएका महिलाहरूलाई कसरी रोजगारी तथा स्वरोजगारीमा अगाडि वढाउन सकिन्छ र सो का लागि तालिम समेत आवश्यक भएको हुँदा यस सवाललाई अबका दिनमा आ–आफ्नो तर्फबाट के कसरी काम गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै सो का लागि प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न रोजगारदाता, अपाङ्गता भएका महिला तथा विभिन्न क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरू लगायत ६१ जनाको सहभागिता रहेको थियो ।