प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएको ३ दिनमै प्रहरी महानिरिक्षकमा नियुक्ति

काठमाडौं । ‘नेपालको कानून जसले बनाउँछ उसैले जानुन्’ भन्ने उखान नेपाल प्रहरीमा प्रहरी प्रमुखको नियुक्तिसँग हुबहु मिल्ने देखिन्छ । नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णय अनुसार नेपाल प्रहरीको प्रमुख अर्थात प्रहरी महानिरिक्षक हुने व्यवस्था गरिएको छ ।

नेपाल सरकार कै निजामती कर्मचारी अन्तर्गत विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा हुनका लागि सहसचिव भएको पाँच वर्षपछि सरकारले तोको उच्चस्तरीय व्यवस्थापन तालिम लिनु पर्ने व्यवस्था गरिएको छ । तर नेपाल प्रहरीको प्रमुख प्रहरी महानिरिक्षणका लागि कुनै पनि हदवन्दी तोकिएको छैन ।

हुन त प्रहरी नियमावलीको दफा ४१ मा प्रहरी महानिरिक्षक पदमा बढुवा हुनका लागि प्रहरी अतिरिक्त महानिरिक्षकहरु मध्यबाट र प्रहरी अतिरिक्त महानिरिक्षक नभएको अवस्थामा प्रहरी नायव महानिरिक्षकहरु मध्यबाट जेष्ठता, कार्यकुशलता, कार्य क्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरिक्षक पदमा बढुवा गर्ने छ ’ भन्ने उल्लेख गरिएको छ ।

तर विगतका केही वर्षयता देखि हेर्ने हो भने यस्ता नियमलाई समेत लत्याउँदै प्रहरी महानिरिक्षक नियुक्ति गर्नका लागि जर्वजस्त रुपमा प्रहरी अतिरिक्त महानिरिक्षकमा बढुवा गरी तुरुन्तै त्यही मध्येबाट प्रहरी महानिरिक्षक नियुक्ति गर्ने प्रचलन बढ्दै जानुले प्रहरी महानिरिक्षक बन्ने अवधिमाथि प्रश्न उब्जन थालेको छ ।

शुक्रबार मात्र सरकारले नेपाल प्रहरी प्रमुख प्रहरी महानिरिक्षकका रुपमा ३ दिन अघि मात्र बढुवा भएका ५ प्रहरी अतिरिक्त महानिरिक्षक मध्येबाट बसन्तबहादुर कुँवरलाई प्रहरी महानिरिक्षक नियुक्ति गरिएको छ।

तीन दिनमा दुई बढुवा

सरकारले शुक्रबार प्रहरी महानिरिक्षकमा नियुक्ति गरेका वसन्तबहादुर कुँवर तीन दिनमा दुई बढुवा खाने भाग्यमानी व्यक्तिमा पर्दछन् । हुन त यस अघिपनि यस्तै प्रचलन नभएको भने होइन ।

सरकारको तजवीजले चल्ने भएकाले पनि प्रहरीमा बढुवा हेर्ने हो भने यस्तै नै भईरहन्छ । निजामती सेवामा विशिष्ट श्रेणी अर्थात सचिवमा बढुवा हुन समेत निश्चित मापदण्ड र कार्यअवधि तोकिएको छ । तर प्रहरी महानिरिक्षकमा नियुक्ति गर्नका लागि पाँच जनालाई अतिरिक्त महानिरिक्षकमा बढुवा गरेर तुरुन्त महानिरिक्षकमा नियुक्ति गर्नु कतै कानूनको धज्जी उडाउने काम भएको त होइन ?

नेपाल प्रहरीको नियमावली मै उल्लेख भएको बुँदालाई हेर्ने हो भने पनि प्रहरी महानिरिक्षक बनाउनका लागि अतिरिक्त महानिरिक्षक भएको खण्डमा जेष्ठताका आधारमा बढुवा गर्ने अतिरिक्त महानिरिक्षक नभएको खण्डमा प्रहरी नायव महानिरिक्षक मध्येबाट प्रहरी महानिरिक्षक नियुक्ति गर्ने उल्लेख हुँदा हुँदै प्रहरी अतिरिक्त महानिरिक्षक बढुवा गरेर त्यसमध्येबाटै प्रहरी महानिरिक्षक नियुक्ति गर्नु कानून विपरित ने देखिन्छ ।