राष्ट्रसङ्घमा रुसको व्यापक आलोचना

काठमाडौँ । युक्रेनलाई लिएर राष्ट्रसङ्घमा रुसको व्यापक आलोचना भएको छ । सोमबार भएको सुरक्षा परिषद्को एउटा बैठकमा महासचिव एन्टोनियो गुटरेस र पश्चिमा राष्ट्रहरूले रुसलाई गाली गरेका हुन् ।

मस्कोले युक्रेनमा आक्रमणका साथै उसको भूमि कब्जा गरेर राष्ट्रसङ्घको बडापत्र उल्लङ्घन गरेको आरोप पनि उनीहरूले लगाए ।

रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले आफ्नो देशले गरेको सैन्य कारबाहीको प्रतिरक्षा गर्दै संयुक्त राज्य अमेरिका तथा उसका सहयोगीहरूले तेस्रो विश्वयुद्ध हुननदिन स्थापना गरिएको संयुक्त राष्ट्रसङ्घको जग र विश्वव्यापी कूटनीतिलाई कमजोर बनाएको आरोप लगाए ।

महासचिव गुटरेसले विश्वस्वास्थ्य संस्थाका १ सय ९३ सदस्य मुलुकबीचको सहकार्यमा जोड दिँदै दोस्रो विश्वयुद्धको विभिषिकाका बीच स्थापना भएको संयुक्त राष्ट्रसङ्घ सदस्य देशबीच सहकार्य एवम् हार्दिकता नहुँदा स्थापनाकालदेखि नै ठूलो तनावमा रहेको बताए ।

ठूला शक्तिराष्ट्रबीचको तनाव बढ्दा विश्व दुर्घटनातर्फ उन्मुख भएको, त्यसले द्वन्द्वको जोखिम बढाएको महासचिवको कथन थियो । युक्रेन युद्धतर्फ सङ्केत गर्दै उनले विश्व संस्था नै तनावमा रहेको बताए ।

बैठकमा महासचिव गुटरेस, अमेरिका, बेलायत, फ्रान्स र उनीहरूका सहयोगी देशका राजदूतहरूले सबै राष्ट्रलाई सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, र प्रत्येक राष्ट्रको राजनीतिक स्वतन्त्रलाई समर्थन गर्न आवश्यक भएको बताउँदै राष्ट्रसङ्घको बडापत्रका अन्तरनिहित सिद्धान्तलाई औल्याएका थिए । रासस