आयोगको बैठकले गर्यो वार्षिक कार्यक्रम र मध्यमकालीन खर्च संरचना पारित

काठमाडौँ  । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले बजेटसागै संसद्मा टेबुल हुने वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित गरेको छ ।

आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, आयोगका पदेन सदस्य अर्थमन्त्री प्रकाशशरण महत, मुख्य सचिवसहित सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना पारित गरेको हो ।

बैठकमा आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले गरेको व्यवस्थाअनुसार मध्यमकालीन खर्च संरचना तयार पारिएको बताए । उपाध्यक्ष श्रेष्ठले वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचनाबारे जानकारी गराएपछि अर्थमन्त्री महतले धारणा राखेका थिए । प्रधानमन्त्री तथा आयोग अध्यक्ष दाहालले एकीकृत दस्तावेजलाई बैठकमा पेस गर्दै पारित गर्न अनुरोध गरेका थिए । प्रधानमन्त्री तथा अध्यक्षले पेस गरेपछि आयोगका सदस्यहरूले ताली बजाएर दुवै दस्तावेज पारित गरे ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा योजना आयोगले आवधिक योजनाको आधारमा आगामी तीन वर्षको समष्टिगत वित्त खाका, बजेट तथा कार्यक्रमको खाका र नतिजा खाकासहितको मध्यमकालीन खर्च संरचना तयार गर्नुपर्ने व्यवस्था रहेको छ ।

आवधिक योजना र वार्षिक बजेटबीच तदाम्यता ल्याउने महत्त्वपूर्ण औजारका रूपमा मध्यमकालीन खर्च संरचना रहेको छ । मध्यमकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रमलाई एकीकृत रुपमा आयोगले दस्तावेज बनाएको छ ।