संगठन विस्तार गर्न नपाउँदै एकीकृत समाजवादी फुटको संघारमा

काठमाडौं । समाजवादी मोर्चा बनाएर अंकमला गरेको दुई दिन पनि वित्न नपाउँदै नेकपा एकीकृत समाजवादी फुुटको संघारमा पुगेको छ । केपी ओली नेतृत्वको एमालेले संविधान लोकतन्त्र मास्न खोजेको भन्दै विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरी संगठन विस्तार गर्न नपाउँदै फुटको संघारमा पुगेको छ ।

नेकपा एमालेमा व्यक्तिवाद हावी भएको, अवसरवादले सिमा नाघेको, पार्टी पार्टी जस्तो नभएर ओलीको प्राइभेट कम्पनी जस्तो भएको लगायतका आरोप लगाउँदै माधव नेपालले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । पार्टी गठन हुँदा देखिएको उत्साह, उमंग र लक्ष्य पार्टी नेतृत्वले विस्तारै भुल्दै गएको आरोप नेकपा एसको कार्यकर्ता तहबाट पनि लाग्दै आएको छ ।

एमाले फुटाएर नेकपा एस बनाउन सवैभन्दा बढी भुमिका निर्वाह गरेका नेताहरुनै पछिल्लो समय नेपालको साथ छाड्ने संकेत देखाउन थालेका छन् । केहिदिन अगाडी मात्रै पार्टीका वरिष्ठ नेता मुकुन्द न्यौपाने सहितका नेताहरुले पार्टीमा चरम अवसरवाद हावि भएको, एक थान मन्त्री र सांसदको लागि सिद्धान्त नमिल्नेहरुसँग गठबन्धन गरेको आरोपसहित पार्टी परित्याग नै गरे । पार्टीबाट विद्रोह गर्नेबेला नेपाललाई दरिलो साथ दिएकी पार्टी सचिव रामकुमारी झाँक्रि गएको निर्वाचनमा पराजय भोगेपछि निश्क्रिय जस्तै छिन् ।

अध्यक्ष नेपालको कार्यशैलीप्रति कार्यकर्ता मात्र होइन, स्वयं पार्टीका सम्मानीत नेता झलनाथ खनाल नै सन्तुष्ट नभएको उनका पछिल्ला अभिव्यक्तिहरुबाट पनि प्रस्ट हुन्छ ।

अझ पछिल्लो समय यो विग्रहको आगो पार्टीको संसदीय दलमा पनि सल्किएको छ । सरकारले ल्याएको बजेटको बिषयलाई उचालेर नेकपा एसका सांसदहरुले पछिल्लो समय अध्यक्ष नेपालसँग निहुँ खोजिरहेका छन् ।

विगत देखिनै फरक मत राख्दै आएका पार्टी उपाध्यक्ष तथा सांसद राजेन्द्र पाण्डे, किसान श्रेष्ठ, अम्मरबहादुर थापा, भानुभक्त जोशी, प्रेम आले लगाएतका सांसदहरुले कुनैपनि हालतमा बजेट पास गर्न नदिने अडान कसेका छन् ।
१० जना सांसद रहेको नेकपा एसमा अध्यक्ष नेपालको विरुद्धमा ४ जनाभन्दा बढी सांसदहरु देखिएका छन् । त्यसकारण पनि नेकपा एस फुट्न सक्ने आधारहरु रहेका छन् ।