असार २३ गते सम्ममा एसईईको नतिजा आउने

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यही हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको छ । अन्तिम रुजु र इन्ट्री गर्ने प्राविधिक प्रकृतिको काम भएकाले लक्ष्य पूरा नै हुन्छ भन्ने एकिन हुँदैन । प्राविधिक समस्या आए नतिजा प्रकाशन अर्को साता धकेलिन पनि सक्ने बोर्डका कर्मचारीले बताए । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

लेटर ग्रेडिङ निर्देशिका– २०७२ वा २०७८ अनुसार कुनमा नतिजा सार्वजनिक गर्ने समेत टुंगो लागिसकेको छैन । बोर्डको बैठकले मात्र त्यस विषयमा निर्णय गर्ने व्यवस्था छ ।

देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका विद्यार्थी सहभागी थिए । ती मध्ये २ लाख ४२ हजार ७ सय १२ जना छात्रा र २ लाख ४२ हजार ६ सय ७४ जना छात्र रहेका छन् । कक्षा ९ देखि प्राविधिक धार समेत पठनपाठन गराउँदै आएका ५ सय ५ विद्यार्थीका १५ हजार ४ सय ६१ जना परीक्षार्थी पनि एसईईमा सहभागी थिए ।