युक्रेनका मुख्य दुई युद्धस्थलमा रुसी सेना तैनाथ, भीषण लडाइँ हुने आशंका

काठमाडौं । १६ महिनाभन्दा लामो समययता रुस र युक्रेनबीच युद्ध जारी छ । युद्ध रोक्नका लागि कैयौँपटक वार्ताको आह्वान पनि भयो तर पनि यी दुई देशका सेनाबीचको गोलाबारी रोकिएको छैन । पछिल्लो समय युक्रेनले रुसी सेनाविरुद्ध जवाफी कारबाही थालेको छ । जवाफी कारबाहीको विषयमा रुस र युक्रेनले आआफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् । उनीहरू एकअर्कालाई कमजोर बनाउन सफल भइरहेको बताउँछन् ।

जे होस्, पश्चिमा राष्ट्रबाट लगातार शक्तिशाली हतियार पाएको युक्रेनले लामो समय रुसलाई रोक्न सफल भइरहेको अवस्था छ । युक्रेनले रुसी सेनाहरूलाई धेरै अतिक्रमित भूभागबाट लखेट्न थालेको दाबी गरिरहँदा उसले रुसले आफ्ना सेनाको संख्या युद्धग्रस्त क्षेत्रमा बढाएको पनि जानकारी दिएको छ ।

पूर्वी युक्रेनमा जारी लडाइँको नेतृत्व गरिरहेका युक्रेनी सेनाका प्रवक्ता सेर्ही चेरेवातीका अनुसार रुसले पूर्वी युक्रनेका मुख्य दुई युद्धस्थलमा थप १ लाख ८० हजार भन्दा बढी सेना तैनाथ गरेको छ ।

उनका अनुसार लिमान र कुप्यान्स्कमा अहिले १ लाख २० हजारभन्दा बढी सेना तैनाथ छन् र बाख्मुतको युद्धक्षेत्रमा ५० हजार रुसी सेना तैनाथ छन् । लिमान र कुप्यान्स्क बाख्मुतदेखि सय किलोमिटर टाढाका क्षेत्र हुन् ।

रुस युक्रेनसामु कमजोर भएकाले उसले ती युद्धक्षेत्रमा सेना बढाएको युक्रेनी भनाइ छ । युक्रेनका उपरक्षामन्त्री हन्ना मलियारका अनुसार बाख्मुतनजिक अहिले बारम्बार युद्ध चलिरहेको छ । युद्ध घातक रूपमा चलेको बताउँदै उनी भन्छिन्, ‘परिस्थिति धेरै छिटो परिवर्तन हुँदै गएको छ । एकै दिनमा एउटै स्थान रुसी सेनाबाट पुनः प्राप्त गर्न सकिने र फेरि नियन्त्रण गुमाउनुपर्ने अवस्था छ ।’

युक्रेनका स्थल सेनाका कमाण्डर जनरल ओलेक्जेन्डर सिर्स्की रुसले युक्रेनको प्रतिआक्रमण छल्दै नोक्सान पुर्‍याउने प्रयास गरिरहेको बताउँछन् । रुसले बाख्मुतछेउको छाशिव यारवरपर आक्रामक गतिविधि बढाए पनि युक्रेनी सेनाले रुसी सेनालाई बाख्मुतभित्र जानबाट रोक्न सफल भएको उनी बताउँछन् ।

रुसले युद्धस्थलमा थप सेना तैनाथ गरेपछि उसले युक्रेनविरुद्ध झनै घातक आक्रमण गर्न सक्ने विषयमा युक्रेन सजग छ ।

सीएनएनको सहयोगमा