कर्जा अपचलन गरेर सम्पत्ति शुद्धीकरण गरेको आरोपमा ११ विरुद्ध मुद्दा दायर

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ११ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। फर्जी कागजातका आधारमा कर्जा लिएर सम्पत्ति शुद्धीकरण गरेको आरोपमा उनिहरु विरुद्ध मुद्दा दायर गरिएको हो ।
उनीहरूविरुद्ध एक अर्ब १० करोड ४३ लाख ३६ हजार बिगो कायम गर्दै विभागले बिहीबार मुद्दा दायर गरेको छ।

फर्जी कागजात खडा गरी कुमारी बैंक लिमिटेडबाट कर्जा लिएको आरोपमा लिखतसम्बन्धी कसुरमा दायर मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। सम्बद्ध कसुरमा मुद्दा चलेपछि विभागले यसमाथि सम्पत्ति शुद्धीकरणमा छानबिन थालेको थियो।

मुद्दामा विभागले कुमारी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र तत्कालीन न्युरोड शाखाका प्रमुखसमेतलाई प्रतिवादी बनाएको छ। उनीहरूसमेतले मिलेमतोमा फर्जी कागजातका आधारमा कर्जा दिएरलिएको दाबी विभागको छ।

उक्त कर्जा मेरलायन इन्टरप्राइजेज कम्पनी प्रालिको प्रयोग गरी सम्पत्ति शुद्धीकरण गरिएको थियो। कसुरमा संलग्न कम्पनीसहितलाई प्रतिवादी बनाएर विभागले मुद्दा दायर गरेको हो।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा १ को (क), (ख) र (ग) ले निषेधित गरेको कार्य गरी प्रतिवादीहरूले सम्पत्ति शुद्धीकरणको कसुर गरेको अभियोग(पत्रमा उल्लेख छ।
सम्पत्ति शुद्धीकरण ऐनको दफा ३० को उपदफा १, २, ७ र ८ बमोजिमको अलग(अलग सजाय र कसुरबाट प्राप्त सम्पत्ति जफत पाउन मागदाबी विभागले लिएको छ।