पत्नी शोकमा रहेका प्रधानमन्त्रीलाई राष्ट्रपतिको समवेदना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै परिवारका सदस्यलाई समावेदना दिएका छन्।

राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति कार्यालयका पदाधिकारी र राष्ट्रपति पौडेलका परिवारका सदस्यहरू शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

राष्ट्रपति पौडेलको सन्देश राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका थिए।

सशस्त्र सङ्घर्षलगायत सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनमा सीताको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति पौडेलले पठाएको समवेदना पत्रमा उल्लेख छ।

‘समाज रूपान्तरण र राजनीतिक परिवर्तन मात्र नभएर प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवं कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ र सहयोग उदाहरणीय तथा अनुकरणीय छ’, राष्ट्रपति पौडेलले समवेदना पत्रमा भनेका छन्।

प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलको समवेदना पत्रमा अत्यन्तै मार्मिक भएको बताउँदै आभार व्यक्त गरेका थिए। यसअघि सीताको निधन भएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी दुःख व्यक्त गरेका थिए।