सरकारी अनुदानको मल अध्यक्षले ससुराली पठाएपछि….

काठमाडौं । कपिलवस्तुको एक सहकारीका अध्यक्षले सरकारी अनुदानको रासायनिक मल ससुरालीमा पठाइएको अवस्थामा फेला परेको छ ।

जिल्लाको शुद्धोधन गाउँपालिका ३ लवनीमा रहेको ओम कृषि सहकारी संस्थाले कृषकलाई वितरण नगरी अध्यक्षको ससुरालीमा पठाएको अवस्थामा फेला परेको हो ।

सहकारीका अध्यक्ष भागिरथी यादवको ससुरा बनारसी यादवको घरबाट ५४ बोरा मल बरामद गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बताए । वडा नम्बर ६ रहेको बनारसीको घरबाट छ बोरा डिएपी (डाई एमोनियम फस्फेट) र ४८ बोरा युरिया मल बरामद गरिएको हो ।

कृषकलाई अनुदानमा दिने मल नपाउँदा कृषकहरु भारतीय बजार र महँगो मूल्य तिरेर मल किन्नुपरेको बुद्धभूमि ५ गिदहवाका कृषक रिजवान गद्दीले जानकारी दिए । रोपाइँको सिजन चालु रहँदा मलको अभाव रहेको कृषकहरुले बताउँदै आएका छन् ।

गोरखापत्र