एमालेद्धारा संसद् अवरोध गर्ने तयारी

फाईल तस्बिर

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ।

पार्टीले १२ बजेका लागि संसदीय दलको बैठक बोलाएको एमालेका एक नेताले जानकारी दिए।

ती नेताका अनुसार एमालेले बुधबार बस्ने संसद बैठक अवरोध गर्ने तयारी गरेको छ।

अवैध सुन तस्करी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने माग राख्दै एमालेले आजको संसद बैठक अवरोध गर्न लागेको हो।

सोमबार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री गैरजिम्मेवार भएको बताएका थिए।

गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने पनि ओलीको भनाइ थियो।

संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ। एमालेले छलफलका लागि आफ्ना सांसदलाई १२ बजे बोलाएको हो।