सुन तस्करी प्रकरणबारे लेखा समितिले गरायो संसदको ध्यानाकर्षण

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर अवैध रुपमा भित्रिएको भारी परिमाणको सुन प्रकरणबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सार्वजनिक लेखा समितिले संसदको ध्यानाकर्षण गराएको छ । लेखा समितिले छानबिनका लागि अधिकार सम्पन्न उच्चस्तरीय समिति गठन गर्न संसदको ध्यानाकर्षण गराएको हो ।

बैठकको निर्णय सुनाउँदै ज्येष्ठ सदस्यका रुपमा समितिको सभापति रहेका अर्जुननरसिंह केसीले भने, ‘यो विषय संसदमा चलिरहेकाले समितिले निर्देशन दिन मिल्दैन । तर, उच्चस्तरीय समिति बनाएर गम्भीर रुपमा छानबिन गर्न संसदको ध्यानाकर्षण गराउने निर्णय समितिले गरेको छ ।’

लेखा समितिको बैठकमा अवैध सुन प्रकरणमा स्वतन्त्र र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न सांसदहरुले माग गरेका थिए।

यस्तै बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसद योगेश भट्टराईले संसदीय समितिको पूर्णताको माग गरेका छन् । समितिले पूर्णता नपाएसम्म एमाले समितिका आगामी बैठकमा सहभागी नहुने उनले चेतावनी दिए ।

उनले बैठकमा भने, ‘संसदीय प्रक्रियाअनुसार संसद र समितिहरु चल्न सकेका छैनन् । गठबन्धनका कारण समितिहरुले पूर्णता पाउन सकेका छैनन् । सत्तारुढ गठबन्धनका कारण सिर्जना भएको समस्याको भारी प्रतिपक्ष बोक्न चाहन्न । समितिले पूर्णता नपाए सम्भवतः हामी समितिका यसपछिका कुनै पनि बैठकमा उपस्थित हुँदैनौं ।’

संसद प्रभावकारी रुपमा चल्न नसक्दा मुलुकको राष्ट्रिय एकताको प्रतीक संसद र संविधान बन्न नसकेको उनले बताए । लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने अभ्यास भए पनि गठबन्धनले दिन नचाहेको नेता भट्टराईले आरोप लगाए ।

बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पनि संसदीय समितिहरुले चाँडो पूर्णता पाउनुपर्ने बताएपछि सभापति केसीले समितिको गम्भीर ध्यानाकर्षण भएको जनाए ।