बाँदर धपाउन बोकेको बन्दुक पड्किँदा एक जनाको मृत्यु

काठमाडौं । बाँदर धपाउन बोकेका भरुवा बन्दुक पड्केर अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका- ७ मा आफैंले बोकेको भरुवा बन्दुक पड्किएर नुवाकोट पानडाँडाका ४५ वर्षीय पदम केसीको मृत्यु भएको हो ।

आफ्नै बारीमा बाँदर धपाउन जाने क्रममा बन्दुक पड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान पदम घरमा राखेको बन्दुक बोकेर बाँदर धपाउन हिंडेका थिए ।

उनी बारीमा चिप्लिएपछि एकनाले बन्दुक आफैं पड्किएको र गोली उनको कोखामा लागेर छातीबाट बाहिर निस्किएको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका केसीको उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । बन्दुक प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।