अवरूद्ध भीमदत्त राजमार्गमा ट्र्याक खोल्ने काम सकियो

काठमाडौं । अवरूद्ध भीमदत्त राजमार्गको क्षति भएको ठाउँमा ट्र्याक खोल्ने काम सकिएको छ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार ट्र्याक खोल्ने काम भएर बाटो सम्याउने, ढुंगा भर्ने, ग्राभेल भर्ने काम भइरहेको हो।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर यिपूस चटौतले गाडी गुड्न भने अझै केही दिन लाग्ने बताएका हुन्।

‘जमेको पानी नाला काटेर निकालिएको छ, सडकको ट्र्याक खोल्ने काम पनि सम्पन्न भएको छ, आकाशको पानीले ट्र्याकको माटो नरम भएको छ, सो सडकमा अहिले नै गाडी गुडाउन मिल्दैन, त्यसैले अझै गाडी गुड्न समय लाग्ने देखिन्छ,’ उनले भने।

उनका अनुसार पानी नपरेको खण्डमा सडक छिटो सञ्चालन हुनसक्छ।

अविरल वर्षाका कारण उक्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा गत सोमबार राति आएको पहिरोसँगै करिब दुई सय मिटर सडक भासिएपछि अवरूद्ध भएको थियो।

मंगलबार पनि पहिरो आउने क्रम नरोकिएपछि थप तीन सय मिटर गरी जम्मा ५ सय मिटर सडक पहिरोले अवरूद्ध भएको थियो।

सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने मुख्य राजमार्गमा अवरूद्ध हुँदा अहिले प्रदेशका तराई र पहाड जिल्ला बीचको सम्पर्क टुटेको छ।

पहाडी जिल्लाबाट आएका सवारी साधन सडक अवरूद्ध भएको ठाउँसम्म पुग्ने गरेका छन्। फेरि त्यहाँबाट करिब एक घण्टा हिँडेर अर्को सवारी साधनमार्फत् तराईका जिल्लामा आउने क्रम भने जारी नै रहेको छ।

यसरी आवतजावत गर्दा यात्रुहरूले महँगो भाडा समेत तिर्नुपरेको गुनासो छ। तराईका जिल्लाबाट पहाडी जिल्लामा खाद्यान्न ढुवानी समेत बन्द छ।