पक्राउ परेका सांसद सुनिल शर्माले भन्छन् : प्रहरीले ममाथि दुईपटक हातपात गर्‍यो

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद डा. सुनिल शर्माले प्रहरी आफूमाथि हातपात गरेको बताएका छन् ।

शुक्रबार सरकारी वकिलको कार्यालयबाट बाहिरिने क्रममा सांसद शर्माले प्रहरीले आफूमाथि दुईपटक हातपात गरेको बताएका हुन् । ‘प्रहरीले ममाथि दुईपटक हातपात गरेको छ । के अनुसन्धानका लागि राख्दा हातपात गर्नुपर्ने हो ?,’ उनले भने, ‘हातपात गर्न मिल्ने हो र ?’

कांग्रेस सांसद शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार दिउँसो गोल्फुटारस्थित निवासबाट पक्राउ गरेको थियो । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा प्रहरीले अहिलेसम्म ८ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार बिहान मात्रै सीआईबीको टोलीले काठमाडौंको गोठाटारबाट सुमेरु सिटी अस्पतालमा कार्यरत डा। पुनम थापा चौधरीलाई पक्राउ गरेको थियो ।