पहिरोका कारण अझै खुलेन हेटौँडा–काठमाडौँ जोड्ने दुई मार्ग

फाईल तस्बिर

काठमाडौँ । पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने दुई मार्ग अझै बन्द छन् । शनिबारदेखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले भीमफेदी कुलेखानी सिस्नेरी काठमाडौँ सडक र कान्ति लोकपथ अवरुद्ध भएको हो ।

आइतबार बिहान खसेको पहिरोका कारण यातायात सेवा अवरुद्ध बनेको छ । लगातार वर्षा बहेकाले आइतबार दिनभर पहिरो पन्छाउन सक्ने अवस्था नरहेपछि सडक बन्द रहेको हो ।

आइतबार खसेको पहिरोका कारण भीमफेदी कुलेखानी सिस्नेरी काठमाडौँ सडक खण्ड बन्द भएको थियो । वर्षाका कारण इन्द्रसरोवर गाउँपालिका–२ मा सडकको माथिल्लो भागबाट खसेको पहिरोका कारण सो सडक खण्ड बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । आइतबार दिनभर पहिरो पन्छाउने प्रयास भएपनि नसकिएको उनले बताए । सो स्थानमा अहिले पनि वर्षा रोकिएको र केही बेरमा नै पहिरो पन्छाउने कार्य सुरु गर्ने उनको भनाई छ ।

यता कान्ति लोकपथ अन्तर्गतमा खसेको २ स्थानमा पहिरो मध्ये एउटा हटाइएको छ भने एउटा अझै हटाउन सकिएको छैन । पहिरो पन्छाउन नसक्दा आइतबारबाट बन्द भएको उक्त सडक अझै सञ्चालनमा आउन सकेको छैन । आइतबार बिहान सो सडक खण्ड अन्तर्गत ललितपुरको भट्टेडाँडा नजिक टाकुर्चे र पाङ्दुर खोलामा पहिरो खसेको थियो ।

प्रहरी चौकी भट्टेडाँडाका अनुसार सो सडक खण्ड अन्तर्गत पर्ने बागमती गाउँपालिका–३ टाकुर्चेको पहिरो आइतबार साँझ नै पन्छाइएको थियो भने पाङ्दुर खोलामा पहिरो हटाउन सकिएको थिएन । सो स्थानमा अहिले पनि वर्षा रोकिएको र पहिरो पन्छाउने काम भइरहेको छ । पुनः वर्षा नभएको खण्डमा करिब २ घण्टामा सडक सञ्चालनमा आउने प्रहरीले जनाएको छ । पहिरोले सडक बन्द हुँदा यातायात सेवा प्रभावित भएको छ ।