मेस्सी उच्च लयमा, ५ खेलमा गरे ८ गोल

काठमाडौं । अर्जेन्टिनी लोकप्रिय फुटबलर लियोनल मेस्सी हाल पनि उच्च लयमै छन् । अहिले अमेरिकाको मेजर सकर लिग क्बल इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका उनले पछिल्लो ५ खेल खेल्दा ८ गोल गरिसकेका छन् ।

मेस्सी जारी लिग कपमा सर्वाधिक गोल गर्ने सूचीको शीर्ष स्थानमा छन् ।

उनकै सानदार प्रदर्शनमा मियामीले लगातार ५ खेल जितेको छ । मियामीलाई लिग कपको सेमिफाइनलमा पुर्याउन ३६ वर्षीय मेस्सीको भूमिका महत्वपूर्ण रह्यो । अब फाइनल प्रवेश गर्न मियामीले बुधबार बिहान फिलाडेल्फिया युनियनको सामना गर्नेछ ।

यदि मियामी फाइनल प्रवेश गरेमा पहिलो सिजन नै स्मरणयोग्य बनाउने मेस्सीको लक्ष्य पूरा हुनेछ । उनी यही सिजनमा पिएसजीबाट बिदा भएर मियामीमा अनुबन्धित भएका थिए ।

साउदी अरेबियाको अल हिलालको मोटो पारिश्रमिकलाई बेवास्ता गर्दै मेस्सी करियरको अन्त्यमा अमेरिकन क्लबमा जोडिन पुगे । सातपटक विश्वकै उत्कृष्ट खेलाडी चुनिएका मेस्सीले पहिलोपटक युरोप बाहिर व्यावसायिक फुटबल खेलिरहेका हुन् ।