अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवम प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार रहेकामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको प्रहरी निरीक्षक नायकले जानकारी दिए।

अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते भएका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन।