ज्यान मार्ने धम्की दिएको भन्दै हेटौंडाका डाक्टरले दिए सामूहिक राजीनामाको दिने चेतावनी

काठमाडौं । सहकर्मी कुटिएपछि हेटौंडाका सरकारी तथा निजी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । प्रहरी, प्रशासनलगायत सरोकारवालासँगको छलफलमा सुरक्षा माग गर्दै उनीहरूले आन्दोलन गर्ने बताएका छन् ।

गत श्रावण २५ गते हेटौंडा उपमहानगरपालिका- १२ निवासी ४१ वर्षका राजेश प्रधानको डेंगुको कारण चितवनको नयाँ मेडिकल कलेजमा मृत्युको घटनालाई लिएर उनका आफन्तसहित केही युवाले सञ्चो अस्पतालको लापरबाही भन्दै बुधबार डा. प्रशान्त विडारी र विकास थापामाथि ड्युटी गरिरहेको समयमा आक्रमण गरेका थिए । उनीहरूको आँखा र अनुहारमा चोट लागेको छ ।

सीसीटीभी फुटेजको आधारमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जसमा मृतककी श्रीमती रमा, छोरी रमिता, छोरा रोहित र भतिज अनुप प्रधानलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता एवं डीएसपी लक्ष्मी भण्डारीले बताए ।

डाक्टरहरूले असुरक्षा बढेको भन्दै घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडि नबढाए सामूहिक राजीनामासँगै शुक्रबारबाट आकस्मिक बाहेकका सेवा बन्द गर्ने बताएका छन् । ज्यान मार्ने धम्की आउँदा पनि गृह प्रशासनले टुलुटुलु हेरेको बसेको भन्दै उनीहरूको गुनासो छ ।

हेटौंडा अस्पतालका सुपरिटेण्डेण्ट डा. रामचन्द्र सापकोटाले स्वास्थ्यकर्मी असुरक्षित बनेको भन्दै एक महिनाअघि भएको मृत्यु घटनालाई लिएर कुटपिट हुनु गम्भीर भएको बताए । छलफलमा कुटपिटमा परेका डा. प्रशान्त बिडारी, नेपाल स्वास्थ्यकर्मी संघ मकवानपुरका उपाध्यक्ष सुधीर दाहाल, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका अध्यक्ष भोला चौलागाई, निजी अस्पतालका प्रतिनिधिहरूले घटनाले स्वास्थ्यकर्मीसँग समाजमा असुरक्षाको अवस्था सिर्जना भएको बताउँदै प्रहरीले नै घटनामा संलग्नहरूलाई नियन्त्रणमा नलिएर सुरक्षा दिने कार्य गरेको आरोप लगाएका थिए ।

साथै स्वास्थ्यकर्मीहरू कुटपिटमा संलग्न भएकाहरूले प्रहरी कार्यालय परिसरभित्रै चिकित्सकलाई मार्छु, काट्छुभन्दा समेत प्रहरी मूकदर्शक बनेर संरक्षण गरेकोप्रति आपत्ति जनाएका थिए । उनीहरुले यस्तो अवस्थामा प्रदेशको राजधानीको स्वास्थ्य ब्यवस्था धरासयी हुने चेतावनी दिएका छन् ।

बुधबार जाहेरी नपरी केही गर्न नसकिने मानसिकतामा रहेका मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँले डाक्टरहरुको चेतावनीपछि भने अब कारबाहीको प्रक्रिया अघि बढ्ने प्रतिबद्धता जनाए ।