लागू औषध ब्राउन सुगरसहित ५ जना पक्राउ

काठमाडौं । झापा र मोरङबाट प्रहरीले लागु औषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले झापाबाट ३ जना र मोरङबाट दुईजना गरी ५ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका मेचीनगर नगरपालिका-६ का २० वर्षीय सुजन विश्वकर्मालाई पक्राउ गरेको हो । एक ग्राम लागु औषध ब्राउन सुगरसहित उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, झापाको शिवसताक्षी नगरपालिका-११ दुधे स्थित बस काउन्टरबाट प्र १-०१-०१३ प ६५८१ नम्बरको स्कुटरमा चामलको बोरा भित्र लुकाएको अवस्थामा ९ ग्राम ७ सय ७० मिलिग्राम लागु औषध ब्राउन सुगर र स्कुटरसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१ धरमपुरका २९ वर्षीय साजन राई र ३५ वर्षीय सुन्दर लावती रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागू औषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, मोरङको विराटनगर महानगरपालिका-१५बाट प्रहरीले ठूलो परिणाममा लागु औषध ब्राउन सुगर बरामद गरेको छ । लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउँदै व्यक्तिहरूलाई अनुसन्धानको क्रममा लागु औषध फेला परेपछि पक्राउ गरेको हो ।

सुनसरीको इटहरी उप(महानगरपालिका-१२ का ४० वर्षीय सुशील कुमार साह र चितवन जिल्लाको भरतपुर महानगरपालिका-१ का ३२ वर्षीय राजकुमार श्रेष्ठको साथबाट ५८ ग्राम ७८ मिलिग्राम प्रतिबन्धित लागू औषध ब्राउन सुगर र नगद १० हजार बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । लागू औषधसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।