अक्सिजन सिलिण्डर स्टक राख्दा कृत्रिम अभाब, बिरामीलाई सकस : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावश्यक रुपमा अक्सिजनको सिलिण्डर स्टमा राखेका कारण बजारमा कृत्रिम अभाव बढेको भन्दै दुख व्यक्त गरेका छन् । पछिल्लो समयमा अक्सिनको अभाव हुन थालेको हल्ला चलेकै भरमा अनावश्यक रुपमा अक्सिनज सिलिण्डर स्टक राख्न थालिएका कारण विरामीहरुका लागि सिलिण्डर अभावका कारण सकस भएकोले अनावश्यक सिलिण्डर स्टक नराख्न मेयर शाक्यले आग्रह गरेका छन् ।

शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै मेयर शाक्यले भनेका छन्,‘ यतिखेर अस्पतालहरुमा अक्सिजनको अभाव नभएर सिलिण्डरको अभाव छ । व्यक्ति, संस्था र उद्योगहरुले आवश्यकता भन्दा बढी सिलिण्डर संचित गरेर राखेको सुन्नमा आएको छ । यस्तो महामारीको बेला विरामीलाई अति आवश्यक पर्ने अक्सिजनको लागि चाहिने सिलिण्डर संचय नगरी आफूसित भएको सिलिण्डर सम्वन्धित उद्योग तथा अस्पतालमा बुझाएर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । ’

मेयर शाक्यले महामारीका रुपमा फैलिएको कोभिड संक्रमण न्यूनिकरण गरी आम नागरिकलाई सुरक्षित गराउने उदेश्यले काठमाडौ महानगरपालिकाले आइसोलेसन सेण्टर सञ्चालन गर्ने, अस्पतालहरुको क्षमता विकास गरेर धेरै भन्दा धेरै विरामीको उपचार गराउने, कोभिडबाट संक्रमित भएका र नभएका दुवै थरीका विरामीलाई अस्पताल आवत जावत गर्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, जोखिम पूर्ण ठाउँलाई निसंक्रमण गराउने लगायतका काम गरिरहेको समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अहिले अस्पतालमा उपचाररत धेरै विरामीलाई प्लाज्मा चाहिएको भन्दै प्लाज्मा दान र्ग सक्ने व्यक्तिहरुलाई प्लाज्मा दान गरिदिन समेत उनले अपिल गरेका छन् । साथै मेयर शाक्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ, जसरी पानीको मुल सफा नगरी नदी सफाइ हुँदैन । त्यसैगरी स्वास्थ्य मापदण्ड पालना नगरी विरामीको संख्या घटाउन सकिँदैन ।

विरामीको चापले आइसोलेसन सेन्टर तथा अस्पतालहरुमा स्वास्थ्य सेवा व्यवस्थापनका भार सिर्जना हुन्छ । महामारी व्यवस्थापनका कोणबाट यो जटिल अवस्था हो । त्यसैले यसप्रकारको जटिलता आउनु अघि सबैले कडाइका साथ स्वास्थ्य मापदण्डको पालना गरौँ । अति आवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कौँ । मास्कको अनिवार्य र सही प्रयोग गरौँ । साबुन पानीले नियमित हात धोऔँ । साबुन पानी नभए सेनिटाइजरको प्रयोग गरौँ । भाइरसको सम्पर्कबाट बच्न अधिक सजगता अपनाऔँ ।