ट्रान्सपरेन्सी इन्टरनेशनल भन्छ- सबैलाई निशुल्क खोप देऊ

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सबैलाई निशुल्क कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएकाले शिघ्र खोप अन्य विषयमा सम्झौता हुन नसक्ने महासचिव मुकुन्द बहादुर प्रधानले जनाएका छन् । प्रधानले पहिलो चरणको खोप सबैलाई उपलब्ध गराउन पनि माग गरेका छन् । ‘पहिलो चरणको खोप लगाएकालाई दोस्रो चरणको खोप लगाउनलाई समय पनि व्यवस्थापन गर्नु,’ उनले भनेका छन्,’यो प्रक्रिया रोकिएकाले जनहितका लागि तुरुन्तै कार्यान्वयन गर्नु ।’

 

खोप आपूर्ति किन रोकिएको, कति ल्याइयो, कति खोप मौज्दात र नयाँ खोप खरिद प्रक्रिया कहाँ पुग्यो त्यसको सम्पूर्ण जानकारी जनतालाई दिन उनले आग्रह गरेका छन् । प्रधानले स्वास्थ्य सामग्री करार प्रणाली अन्तर्गत खरिद गर्नलाई आग्रह पनि गरेका छन् । महामारीको समयमा स्वास्थ्य सामग्रीमा अनियमितता हुनु राष्ट्रघाती काम भएको उनले बताए । कमिसनका लागि जनताको जीवनसँग खेलबाड गर्ने काममा सरकारी वा निजी क्षेत्र संलग्न भएमा छानविन गर्न उनले माग गरे ।

 

महामारी नियन्त्रणका लागि तिनै तहका सरकारलाई कार्ययोजना बनाउन  पनि उनले आग्रह गरेका छन् । महामारी नियन्त्रणमा विज्ञहरूसँग परामर्श गरी अभियान चलाउनुपर्नेमा उनले जोड गरे । सरकारले संकटमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सामाजिक अभियन्तालाई प्रोत्साहन गर्न प्रधानले माग गरेका छन् । सिरम इन्स्च्यियुटबाट खोप खरिद गरिएको र केही ढिलाई भएको तथा एजेन्टले कमिसनको पारेको प्रभाव सम्बन्धी समाचार प्रकाशित भएको प्रति उनले आपत्ति समेत जनाएका छन् ।