माेटाे रकमसहित चार जना हुन्डी काराेबारी पक्राउ

पर्सा  । पर्सा प्रहरीले ८२ लाख ५० हजार रुपैयाँसहित ४ जना हुन्डी कारोबारीलाई बुधबार नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्ज महानगरपालिका– ३ पानीट्यांकीस्थित विकास कुमार बस्ने फल्याटबाट ८२ लाख ५० हजार रुपैयाँ बरामद गरेको हो । उक्त फल्याटमा भारत रक्सौलका विकाससँगै बस्ने भारत मोतिहारीका गुड्डु कुमार र साहिल गुप्तालाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सोधपुछ गर्ने क्रममा वीरगन्जको पुरानो बसपार्कमा रहेका बाराको महागढीमाई– ४ निवासी कमलोद्दिन अन्सारीलाई पनि प्रहरीले नियन्त्रणमा छ ।

 

प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार स्रोत नखुलेको ठूलो रकमसहित पक्राउ परेका चारजना माथि बैंक तथा वित्तीय संस्थाविरुद्धको कसूर सम्बन्धी ऐन बमोजिम कारबाही अगाडि बढाइने छ । ‘अवैध रकम ओसारपसारका लागि यो समूहले विशेष प्रकारको हेल्मेट प्रयोग गरेका थिए,’ एसपी पाण्डे भन्छन्, ‘उनीहरुको मुभमेन्टमाथि प्रहरीले निगरानी बढाएको थियो । यसमा संलग्न अन्यमाथि पनि गहिरो अनुसन्धान गरिने छ ।’ सम्बन्ध स्रोतका अनुसार यो समूहले विगत लामो समयदेखि नेपाल र भारतमा हुण्डीको कारोबार गर्दै आएका थिए ।