मकवानपुरमा पनि अक्सिजनकै अभाव

मकवानपुर । मकवानपुरमा अन्य जिल्लाका अक्सिजन उद्योगको भरपर्नुपर्ने अवस्थाका कारण संकमितकाे अवस्था डरलाग्दाे छ ।  सहजरूपमा अक्सिजन आपूर्ति नहुँदा बिरामीको उपचारसमेत समस्या हुँदै आएको हेटौँडा अस्पताल व्यवस्थापन समितीका सदस्य सुपेन्द्र कार्कीले जानकारी दिएका छन् ।

आजको अवस्थामा तीनवटा स्वास्थ्य संस्थामा दैनिक रुपमा २५० अक्सिजन सिलिन्डर आवश्यकता पर्ने गरे पनि हाल दैनिक २१० सिलिन्डर मात्र प्राप्त हुँदै आएको छ । बिरामीको सङ्ख्या बढ्दै जाँदा झन् अक्सिजनको माग बढी हुँदै जाने भएकाले जिल्लामा अक्सिजन अभावको समस्या बढ्दै गएको अस्पताल व्यवस्थापन समितिका सदस्य कार्कीले जानकारी दिए ।

कोभिड–१९ का बिरामी उपचार गर्दै आएका तीनवटा स्वास्थ्य संस्थाका अनुसार हाल प्राप्त अक्सिजन सिलिन्डरका आधारमा उपचार गराइरहेका बिरामीलाई धान्नै मुस्किल परेको अस्पतालले जनाएका छन् । हाल हेटौँडा अस्पतालसहित अन्य निजी दुईवटा अस्पतालमा करीब २५० सिलिन्डर माग हुँदै आए पनि करीब २१० मात्र सिलिन्डर व्यस्थापन हुँदै आएको र थप सिलिन्डर व्यस्थापनका लागि आवश्यक पहल भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले बताएका छन् ।