संसद भंग इतिहासकै कालो दाग : पूर्वसभामुखहरु

काठमाडाैं । सभामुख  अग्नी  सापकोटा पूर्व सभामुखहरूसँग परामर्श लिइरहेका छन् । साे क्रममा  पूर्व सभामुखहरुले प्रधानमन्त्री केपी शर्मा ओली संसदप्रति इतिहासमै सबैभन्दा अनुदार प्रधानमन्त्री रहेको टिप्पणी गरेको बताइउको छ । मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले नयाँ बानेश्वरमा पूर्व सभामुखसँगको अन्तरक्रियामा उनीहरुले यो कुरा बताएका हुन् ।  सरकारले दोश्रो पटक प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सभामुख यसरी अन्तर्क्रियामा जुटेका हुन्   । छलफलका क्रममा उनीहरुले सर्वोच्च अदालतको आदेशको अवमूल्यन गर्दै दोश्रो पटक प्रतिनिधिसभा विघटन गर्नु अलोकतान्त्रिक कदम भएको बताएका छन् । कोरोना महामारी रोक्न सरकारले अन्य दलहरूसँग समन्वय गर्नुपर्ने बेलामा चुनाव घोषणा गरेर पौंठेजोरी खोज्नु अलोकतान्त्रिक भएको टिप्पणी उनीहरुले गरेका छन् ।

जुन संसदमा प्रधानमन्त्रीमा नियुक्त भए त्यही संसदलाई देखिनसक्ने प्रधानमन्त्री ओलीले दुई दुई पटक संसद भंग गरेर  इतिहासमै सबैभन्दा ठ्रलो अपराधपूर्ण काम गरेको उनीहरुले बताएका छन् । आन्दोलन र संघर्षबाट प्राप्त व्यवस्था तहसनहस पार्न लागेकोले त्यसलाई जोगाउनु अहिलेको मुख्य कार्यभार रहेकोमा उनीहरुको जोड छ ।  बैठकमा सभामुख अग्निप्रसाद सापकोटा, पूर्व सभामुखहरू रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती, कृष्णबहादुर महरा सहभागी रहेका छन् भने सुवास नेम्वाङ भने सहभागी छैनन् । पूर्व सभामुख रानाभाट जुमबाट बैठकमा सहभागी छन् भने दमननाथ ढुङ्गाना पनि जुम प्रविधिबाट बैठकमा सहभागी हुने प्रयासमा रहेको सभामुख सापकोटाको सचिवालयले  इकालाेपाटीलाइ बताए ।  प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद विघटन गरेर चुनाव घोषणा गरेपछि आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारेमा सभामुख सापकोटाले परामर्श गरिरहेका छन् ।