मौद्रिक नीति निर्माण भइरहेको राष्ट्र बैंकको दाबी

काठमाडाैं । आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति ढीलोगरी प्रकाशित हुने भए पनि नेपाल राष्ट्र बैंक यसको तयारी गर्न जुटिरहेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति निर्माण भइरहेको जानकारी दिएसँगै यस्तो तथ्य बाहिरिएको हो । 

नेपाल राष्ट्र बैंकले नीति तयार पार्न चाहिने सुझाव समेत तयार गरिसकेको जनाएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकालले मौद्रिक नीति ल्याउने सन्दर्भमा सरोकारवालासँग छलफल भइरहेको बताए। सुझाव संकलन लभगभ सकिएको र पूर्व गभर्नरहरुसँग छलफल गर्न बाँकी रहेको उनको दाबी छ । उनले उपयुक्त समयमा मौद्रिक नीति ल्याइने बताए। 

उनले भने ‘आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति निर्माणको क्रममा विभिन्न सरोकारवाला निकायहरुसँग सुझाव संकलन गर्ने कार्य हामीले सम्पन्न गरिसकेका छौँ। एक दुईवटा सरोकारवाला खासगरी पूर्व गर्भनरज्यूहरुसँग सुझाव संकलन गर्ने काम बाँकी छ, र सो सुझाव संकलनको आधारमा हामी मौद्रिक नीतिको निर्माणको आन्तरिक तयारी पनि सँगसँगै गरिरहेको अवस्था छ।’ सरकारले आर्थिक वर्ष २०७८/०७९ बजेट अध्यादेशबाट ल्याएको र हाल सरकार समेत परिवर्तन भएको सन्दर्भमा मौद्रिक नीति कहिले आउँछ भन्ने चासोको विषय बनेको छ।