काबुलमा तनावकैबीच पनि उद्धार कार्य जारी राख्ने अमेरिकाको घोषणा

एजेन्सी । इस्लामिक स्टेट (आइएस) को आक्रमणपछिको चासो र चिन्ताका बिच पनि काबुल विमानस्थलबाट देश छोड्न चाहने अफगानीहरुको उद्धार अन्तिम समयसम्म जारी राख्ने अमेरिकाले बताएको छ ।

काबुल विमानस्थलको प्रवेश द्वार नजिक बिहीबार भएका बिस्फोटमा ज्यान गुमाउनेको संख्या १७० पुगेको खबर छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अझै पनि विमानस्थल आसपासको क्षेत्रमा आक्रमणको गम्भीर चुनौति र जोखिम रहेको बताएको छ ।

अमेरिकाले अझै पनि देश छोड्न चाहमा लाइनमा रहेका अफगानहरुको प्रक्रिया अघि बढाइरहेको छ । नेटोमा आवद्ध अधिकांश देशहरुले भने आफ्ना आकश्मिक उडानहरु बन्द गरिसकेका छन् ।

फ्रान्सले आफ्नो उद्धार अभियान शुक्रबार अन्त्य गरेको हो । विमानस्थलको सुरक्षा अवस्था गम्भीर बनेको आरोप लगाउँदै फ्रान्सले आफ्नो अभियान अन्त्य भएको घोषणा गरेको हो । आफ्ना विमान मार्फत झण्डै तीन हजार मानिसलाई उद्धार गरेको फ्रान्सको भनाई छ ।

अमेरिकाले आफ्ना सैनिक फिर्तीका लागि तय गरेको समय सीमा अगस्ट ३१ मा सकिँदै छ ।

अहिले काबुल विमानस्थल अमेरिकी र बेलायती सैनिकको नियन्त्रणमा छ । तर उनीहरुले आफ्नो अभियान अन्त्यको प्रक्रिया जारी राखेको र त्यसपछि तालिबानले नियन्त्रण बनाउने उल्लेख छ ।

तालिबानका प्रवक्ताले शुक्रबार राति विमानस्थलको केही भाग आफ्नो नियन्त्रणमा आएको बताएका छन् । तर पेन्टागनले भने त्यसको खण्डन गरेको छ । पेन्टागनका अनुसार अझै पनि पाँच हजार भन्दा बढी मानिसहरु देश छोड्ने चाहमा विमानस्थल भित्र पर्खाईमा छन् ।

झण्डै दुई हप्ता पहिले हवाई उद्धार सुरु भएयता एक लाख ११ हजार भन्दा बढीलाई अफगानिस्तानबाट उद्धार गरिएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

अफगानिस्तान छोड्न चाहने अमेरिकीहरुलाई पहिलो प्राथमिकतामा राखिएको ह्वाइट हाउसले जनाएको छ ।

उनीहरुलाई विमानस्थलसम्म सुरक्षित रुपमा ल्याउनका लागि विभिन्न उपायहरु अपनाइएको उल्लेख छ ।

काबुलस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई विमानस्थलको यात्रा सकेसम्म नगर्न र गर्न परेको अवस्थामा गेटहरु तर्फ नजान भनेको छ ।

बिहीबार विमानस्थलको गेटमा मानिसहरुको भिडमा आत्मघाती बम बिस्फोट भएको थियो । सुरुमा दुई बम बिस्फोट भएको ठानिएको थियो ।

तर विमानस्थल नजिकैको होटलमा बिस्फोट नभएको अमेरिकी अधिकारीले शुक्रबार बताएका हुन् । बिस्फोटमा १३ जना अमेरिकी सैनिकको पनि मृत्यु भएको थियो ।