मेयर शाक्य भन्छन्, केही समय फोहोर व्यवस्थापनमा चुनाैती थपिएको छ

ओखरपौवा । ओखरपौवाका स्थानीयले विरोध जनाएपछि अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने फोहोर थुप्रिएको छ । 

दुई वर्षका लागि मात्रै काठमाडौंको फोहोर विसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको विरोध गरेका हुन् । 

स्थानीयको विरोधपछि अहिले काठमाडौंको फोहोर केही समय यता उठ्न सकेको छैन । सरकारले मानव वस्तीको बीचमा फालिएको फोहोरको उचित व्यवस्थापनमा लापरवाही गरेको स्थानीयको गुनासो छ । 

स्थानीय परशुराम अर्यालका अनुसार ओखरपौवामा १४ वर्षसम्म फालिएको फोहोर व्यवस्थापन गर्न नसक्दा ठूला समस्याहरू देखा पर्न थालेका छन् । 

फोहोरको पानी चुहिएर खोलामा जाने र त्यही पानी गाईवस्तुलाई खुवाउनु र बालीनालीमा लगाउनु पर्ने बाध्यताले विभिन्न रोगहरु पैदा भइरहेको स्थानीयवासी अर्यालले बताए । 

उनले फोहोरका कारण मानव वस्ती प्रभावित भइरहेकोले सरकारले त्यहाँको उचित व्यवस्थापन गरिदिनुपर्ने उनको भनाइ छ । अर्यालले सरकारले जग्गा अधिग्रहण गरेर वस्ती हटाउने वा त्यहाँको फोहोर व्यवस्थापन गर्ने र अब बञ्चरेडाँडामा फोहोर लग्ने व्यवस्था नमिलाए निकट भविष्यमै ठूलो दुर्घटना निम्तिने बताए । 

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले सिसडोलमा फोहोर फाल्न अब नसकिने भन्दै सबै निकायले छिटोभन्दा छिटो आफ्नो काम गरेर बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न सक्ने व्यवस्था मिलाउनु पर्ने बताए । 

उनले कोभिड–१९ का कारण केही समस्याहरू आइरहेको बताउँदै सबै राज्य संयन्त्र मिलेर काम अघि बढाउनुको विकल्प नरहेको बताए । उनले सिसडोलका स्थानीयको मागलाई सम्बोधन गर्ने गरी काम अघि बढाइने पनि स्पष्ट पारे । 

सिसडोड ल्याण्डफिल्ड साइटका इञ्चार्ज सरकारदीप श्रेष्ठले बाटोभन्दा माथि फोहोर व्यवस्थापन गर्नुपरेकोले समस्या आइरहेको बताए । 

‘हरेक दिन १५० गाडी फोहोर व्यवस्थापन गर्नुपर्नेमा अहिले कहिले १००, कहिले १५०, कहिले ५० गाडी हुन्छ । अहिले ५०–६० गाडी फोहोर व्यवस्थापन भएको छ,’ उनले भने, ‘काठमाडौं उपत्यकाको फोहोर सजिलै उठ्न सकेको छैन । सडकमा फोहोर देखिसकेको अवस्था हो । यसलाई न्यूनिकरण गर्नका लागि बञ्चरे डाँडा ल्याण्डफिल्ड साइट तयार हुनुपर्ने, ७५ सालदेखि तयार हुन्छ भनेर भनिएको तर अहिलेसम्म तयार भएको छैन ।’

सिसडोलमै राख्नुपर्ने अवस्थामा वर्षात कम भएपछि मात्रै अलि सहज हुने उनको भनाइ छ । ‘त्यसैले शहरवासीले सडकमा फोहोर नफाली घरमै २–४ दिन राख्दा पनि दुर्गन्धित हुँदैन । कुहिने फोहोर मात्रै बाहिर निकालौँ,’ उनले भने ।