मन्त्रिपरिषद् पूर्णता दिने विषयमा गठबन्धनको छलफल जारी

काठमाडाैं । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले गठबन्धनका शीर्ष नेताहरूको बैठक केही बेरअघि सुरु भएको जानकारी दिए। 

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीबाट अध्यक्ष माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) बाट अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई सहभागी छन्।

आजको बैठकले गठबन्धनका दलबीच बाँकी मन्त्रालय भागबन्डा गरेर सहमति जुटाउने र बुधबारसम्म सरकारलाई पूर्णता दिने तयारी रहेको प्रधानमन्त्री शेरबहादुर देउवानिकट स्रोतले जनाएको छ। 

गठबन्धनबाट देउवा प्रधानमन्त्री बनेको ५० दिन भइसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन। जसले गर्दा देउवाको चर्को आलोचना भइरहेको छ।