ढुंगा हान्न र विद्रोह गर्न सिपालु झाँक्रीले सहरी विकास मन्त्रालय सम्हाल्लिन् ?

काठमाडौं । राजनीतिमा जोखिम मोल्ने क्षमताकै कारण रामकुमारी झाँक्री मन्त्री बन्न सफल भएकी छिन्।

एकीकृत समाजवादीकी सचिव एवं सांसद रामकुमारी झाँक्रीले शुक्रबार सहरी विकासमन्त्री बन्ने सौभाग्य पाएकी छिन्। उनीसँगै देशले थप १८ मन्त्रीहरु पाएका छन्। अब मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीसहित २२ मन्त्रीहरु र तीन राज्यमन्त्रीहरु छन्।

२०३५ जेठमा गुल्मीको मदानेमा जन्मिएकी झाँक्री विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा प्रवेश गरेकी हुन्।

लडाकु स्वभावकी झाँक्री २०६२/६३ को जनआन्दोलनमा सर्वाधिक सक्रिय थिइन्।

२०४७ सालमा गुल्मीको पृथ्वी माविमा एमाले निकट अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य हुँदै विद्यार्थी राजनीतिमा प्रवेश गरेकी झाँक्री अनेरास्ववियुको १९औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएकी थिइन्।

अखिलको अध्यक्ष भएपछि उनी राजनीतिक परिदृश्यमा सधैँ चर्चामै रहेकी छिन्।

एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको चर्को र प्रष्ट स्वरमा आलोचना गरेकै कारण उनको राजनीतिक जीवन पनि उकालो लागेको थियो।

एमालेभित्रको अन्तर संघर्ष चर्किँदै विभाजनसम्मको अवस्थासम्म पुग्दा माधव नेपाललाई साथ दिँदै आएका पार्टीका कयौँ नेताहरुले साथ छाड्दा पनि उनी सँगै रहिन्।

झाँक्रीलाई एमालेमै राख्न नेताहरुले निक्कै कोशिश गर्दा उनले जोखिम मोलेरै विभाजनको पक्षमा नेपाललाई साथ दिइन्।

गत भदौ ९ गते एमाले विभाजन गरेर एकीकृत समाजवादी गठनका लागि निर्वाचन आयोगमा सनाखत गर्न जाँदा तेस्रो पुस्ताकी झाँक्रीले अध्यक्ष नेपाललाई डोर्‍याएको तस्विरको धेरैले चर्चा गरेका थिए। नयाँ बन्न लागेको पार्टीमा नजान आफ्ना थुप्रै सहयात्रीले भनेको कुरालाई बेवास्ता गर्दै नयाँ बनाउन जोखिम मोलेरै नेपाललाई ढाडस दिएकी झाँक्री त्यसकै उपलब्धिस्वरुप मन्त्री बनेकी हुन्।

एमालेमै रहेको भए मन्त्री बन्न उनले सायद अझै धेरै वर्ष कुर्नुपथ्यो। उनली एमालेको नवौं राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् भने २०७५ जेठमा नेकपा बन्दा पनि उनी केन्द्रीय सदस्य भइन्।

२०७४ मा एमालेको समानुपातिक कोटाबाट सांसद निर्वाचित भएकी उनी पहिलोपटकमै मन्त्री बन्न पाउने थोरै भाग्यमानीमध्ये परेकी छिन्। त्यही तुलनामा २०४८, २०५१, २०७० र २०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका विरोध खतिवडा पनि पहिलोपटक मन्त्री बनेका छन्।

इतिहास, दर्शन र साहित्य अध्ययनमा रुचि राख्ने झाँक्री सार्वजनिक नीति र विकासमा चासो राख्छिन्।

आफूलाई पारिजातका कृतिबाट प्रभावित बताउने उनले पारिजात संघर्षशील नारी पुरस्कार पनि प्राप्त गरेकी छन्। उनी आफूलाई आवाजविहीन र दबाइएकाहरूको आवाज बोल्ने व्यक्तिका रूपमा परिचित गराउँछिन्।