नारायणहिटी दरबार रेष्टुरेष्ट प्रकरणमा बतासले जारी गरे विज्ञप्ति

काठमाडौं । पछिल्लो समय निकै चर्चाको विषय बनेको नारायणहिटी भित्र क्याफे सञ्चालनका लागि दिएको अनुमतिका सम्वन्धमा बतास अर्गनाईजेसनले प्रेस विज्ञप्ति मार्फत स्पष्ट पारेको छ । बुधबार विज्ञप्ति जारी गदै बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालयभित्र क्याफे सञ्चालनको ठेक्का कुनै सेटिङको आधारमा नभएको दावी गरेको छ ।

बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा भनिएको छ नारायणहिटी दरबार परिसरमा क्याफे सञ्चालनको ठेक्का कुनै प्रभाव र दबावमा पाएको होइन भन्ने कुरा सम्झौाको भाषाले नै स्पष्ट हुने बताए ।

‘बतास अर्गनाइजेशनले कुनै प्रकारको प्रभाव वा दबाव सिर्जना गरिएको थिएन भन्नेकुरा सम्झौता पत्रमा प्रयुक्त भाषाले नै स्पष्ट पारिरहेका अवस्थामा सो क्रममा ‘सेटिङ’ भएको भन्दै जे–जसरी समाचारहरु प्रकाशित, प्रशारित भइरहेका छन् ती समाचारहरुका शीर्षकदेखि व्यहोरासम्ममा पुरापुर भ्रम र झुट मात्र प्रस्तुत भएको यहाँहरुलाई स्पष्ट पार्न चाहन्छौं’ उनले भनेका छन् ।

गोरखापत्र दैनिकमा प्रकाशित सूचनाको आधारमा मासिक २ लाख २१ हजार ६१८ रुपैयाँ भाडा तिर्ने गरी बीपीएस लिजिङ एण्ड म्यानेजमेन्ट र नारायणहिटी दरबार संग्रहालयबीच २०७७ पुस १७ गते सम्झौता गरेको बतासले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

जम्मा तीन वर्षका लागि अत्यन्तै कडा शर्तहरुसहित क्याफ्टेरिया भाडामा लिएको र त्यहाँ तीन करोडभन्दा बढी लगानी गरिसकेको उनले उल्लेख गरेका छन् । तर आफूहरुले बनाएको संरचना गैरकानुनी ढंगले नष्ट गर्ने काम भएको भन्दै उनले भनेका छन्, ‘हामी माथि राज्यले गरेको अन्याय र अपराधबारे समेत आम जनमानसलाई जानकारी गरिदिनुहुन यहाँहरुलाई अनुरोध गर्न चाहान्छौं ।’

बतासले नारायणहिटी संग्रहालय सम्बन्धमा बनेको छानबिन समितिले आफूहरुसँग सोधखोज नै नगरी एकतर्फी रुपमा पूर्वाग्रही भएर प्रतिवेदन दिएको पनि उनको दावी छ ।